तुलसीपुरका होटेलमा रैथाने खाना

अर्थबिट २०८०-०४-०७ ०८:४२:०० बजे

तुलसीपुर । रैथाने बाली क्रमिकरूपमा लोप हुन थालेपछि यहाँका होटेल व्यवसायीले भने रैथाने खाना जोगाउन अभियान थालेका छन् । पछिल्लो समय रैथाने खाना ओझेलमा पर्न थालेको भन्दै यसलाई जोगाउन दाङ तुलसीपुरका होटेलमा रैथाने खाना खुवाउन थालिएको हो । 

सिस्नो, ढिँडो, सातु, मोही, स्थानीय जातका कुखुरा, गुन्द्रुक, सिलामको आचारलगायत परिकार समावेश गरी  रैथाने खाना खुवाउन थालिएको तुलसीपुर होटेल व्यवसायी समितिका महासचिव तुफान केसीले बताउनुभयो । “यहाँका होटलमा रैथाने खाना प्रवर्द्धन गर्ने हाम्रो योजना हो”, उहाँले भन्नुभयो, “यसलाई निरन्तरता दिँदै यसलाई संरक्षण गर्न हामी सक्रिय भएका छौँ ।” 

होटेल व्यवसायी सङ्घको अभियानअन्तर्गत पहिलो चरणमा तुलसीपुरस्थित कुमाख क्याफेलगायत होटेलमा यसको सुरुआत गरिएको केसीले बताउनुभयो । 

“समाज आधुनिकतातर्फ ढल्किँदा हाम्रो भान्सामा प्रयोग हुने रैथाने खाना विस्थापित हुनु चुनौतीको विषय हो”, स्थानीय भोजराज न्यौपानेले भन्नुभयो, “यसलाई जोगाउन थालिएको प्रयास सकारात्मक छ ।” पछिल्लो समय रैथाने बालीसँगै खाना पनि लोप हुँदै जाँदा यसको संरक्षणमा लाग्नु आवश्यक रहेको उहाँको भनाइ छ ।

“रैथाने खाना स्वास्थ्यका हिसाबले पनि राम्रो छ । आर्थिक अवस्था कमजोर भएकाको परिवारले मात्र ढिँडो आँटो खान्छन् भन्ने पुरातन सोच परिवर्तन भई पाँचतारे होटलमा समेत ढिँडो आँटो पाक्ने गरेको छ”, तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले भन्नुभयो । नेपालीको मौलिकपना बचाइराख्न आफ्नो भान्सा होस् या सार्वजनिक कार्यक्रममा खाना, खाजाका लागि नेपाली खानाको प्रयोग हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पछिल्लो समय रैथाने खाना उत्पादनमा कम हुन थालेको भन्दै यसरी होटेल व्यवसायीले रैथाने खानालाई प्रवर्द्धन गर्न थालेपछि हाम्रा पाखा र खेतमा पनि रैथाने बाली उत्पादनमा वृद्धि हुने भण्डारीले बताउनुभयो । रैथाने खानालाई परापूर्वकालदेखि प्रचलित खानाका रुपमा लिने गरिएको उहाँको भनाइ थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।