नयाँबसपार्कमा यात्रुको झोला तान्दा...

अर्थबिट २०८०-०४-१४ १५:०४:०० बजे

काठमाण्डौ । नेपाल प्रहरीले काठमाण्डौको नयाँ बसपार्कमा यात्रुको झोला जथाभावी तानेर यात्रुलाई दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख हैरानी दिने व्यक्तिलाई पक्राउ गरी कारबाही गर्दै आएको छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीले विभिन्न स्थानबाट काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले शनिबारमात्र नयाँबसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको छ । जसमध्ये चारजना होटल सञ्चालक रहेका छन् । “सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ”, उहाँले भन्नुभयो । प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ ।

नेपाली होटल व्यवसायी सङ्घका अध्यक्ष गणेश ढकालले होटल व्यवसायी सङ्घ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताउनुभयो । यात्रुलाई दुःख तथा हैरानी दिने जो–कोहीलाई कारबाही हुनुपर्ने उहाँको भनाइ छ ।

“यात्रुले सुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाण्डौ आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभावी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन”, उहाँले भन्नुभयो ।

सङ्घले पछिल्लो समय होटल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थितरूपमा होटल सञ्चालन गर्नका लागि होटलमा अनिवार्यरूपमा ‘सिसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।