मनसुन थप सक्रिय, मौसममा सुधार आउन अझै केही दिन लाग्ने

अर्थबिट २०८०-०४-२४ ०७:२०:०० बजे

काठमाण्डौ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै दुई दिन वर्षाको सम्भावना रहेको छ । नेपालमा मनसुनी वायुको असरका साथै बङ्गलादेशको उत्तरीभाग तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीका कारण पनि बदली र वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको उत्तरतिर अवस्थित रहेकाले मनसुन सक्रिय भएको छ । 

“मनसुन थप सक्रिय भएको छ । वर्षा केही दिन हुने देखिन्छ  तर लगातारको वर्षा भने हुने देखिदैन”, मौसमविद् महर्जनले भन्नुभयो । काठमाण्डौ  उपत्यकामा अहिले हल्का वर्षा भइरहेको छ । मङ्गलबार बिहान काठमाण्डौमा भारी वर्षा भएको  थियो । महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा ६४ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसममा सुधार आउन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

अहिले काठमाण्डौको उत्तरपूर्वी र दक्षिणभेगतिर हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

रातिको समयमा पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।