गत आवको कामपाको राजस्व रु दश अर्ब २५ करोड

अर्थबिट २०८०-०४-२४ ०८:०७:०० बजे

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले गत आर्थिक वर्ष २०७९/०८० मा रु दश अर्ब २५ करोड ४१ लाख राजस्व असुल गरेको छ । कामपाले गत आवको लागि रु दश अर्ब ४१ करोड लक्ष्य लिएको थियो । अघिल्लो आवको भन्दा गत आवमा आन्तरिक राजश्व लक्ष्य अनुसार नै उठेपनि कामपाले सङ्घ तथा प्रदेश सरकारबाट बाँडफाँट र अनुदानबाट आउने रकम कमी आउँदा समग्र राजस्व भने घटेको छ ।  

आव २०७८/०७९ मा कामपाले दश अर्ब ४१ करोड राजस्व असुल गरेको थियो । अनुदान रकम कम भए पनि अछिल्लो आर्थिक वर्षको तुलनामा आन्तरिक आम्दानी रु एक अर्ब ३६ करोड बढी असुल भएको कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार कामपाले आन्तरिक आम्दानी लक्ष्यभन्दा ५७ करोड बढी असुल गरेको हो ।  

जसमा सबैभन्दा बढी बहाल करमा रु दुई अर्ब ५६ करोड असुल भएको छ, त्यस्तै सम्पत्ती करमा रु एक अर्ब आठ करोड, व्यवसाय करमा पनि ५८ करोड असुल भएको विभागका प्रमुख काफ्लेले बताउनुभयो । त्यस्तै नक्शापास दस्तुरबाट रु १० करोड ११ लाख भन्दा बढी राजस्व उठेको छ । स्रोतसाधनको हिसाबले सबैभन्दा बलियो कामपाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो । 

आव २०७८/०७९ मा जम्मा रु चार अर्ब ४६ करोड  आन्तरिक राजस्व उठाउन सफल भएको कामपाले आव   २०७९/०८० मा रु पाँच अर्ब ८२ करोड राजस्व उठाउन सफल छ ।  

कामपाले सम्पत्ति, घरजग्गा, बहाल, व्यवसाय मनोरञ्जनलगायत विभिन्न ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ मा मूल्य अभिवृद्धि कर तथा आन्तरिक अन्तः शुल्कबाट उठेको रकममध्ये ७० प्रतिशत केन्द्र सरकारलाई र १५/१५ प्रतिशत प्रदेश तथा स्थानीय तहलाई बाँडफाँट हुने व्यवस्था छ ।  

गत आवमा बाँडफाँटबाट कामपाले रु एक अर्ब ८५ करोड पाएको छ राजश्व विभाग प्रमुख काफ्लेले भन्नुभयो,“अघिल्लो वर्षको  तुलनामा रु एक अर्ब ६८ करोड ९४ लाखले कमी हो । अघिल्लो वर्ष करिब तीन अर्ब रु ५५ करोड प्राप्त गरेको थियो ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।