डेङ्गुबाट १३ हजार सङ्क्रमित, सबैभन्दा बढी सुनसरीमा

अर्थबिट २०८०-०४-३० १२:५३:०० बजे

काठमाण्डौ । देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण  फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् । 

डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताउनुभयो । उहाँले दैनिक सङ्क्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गर्नुभयो । 

“दैनिक डेङ्गुको सङ्क्रमण बढिरहेकाले सरसफाईसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ”, निर्देशक डा मरासिनीले भन्नुभयो, “डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ ।” 

नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो । 

सुनसरीमा सात हजार सङ्क्रमित

डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी सुनसरीमा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा सात हजार ८९ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । 

यस्तै मोरङ एक हजार पाँच सय ९१, धादिङमा एक हजार दुई सय दुई, झापामा आठ सय ९६, कास्कीमा दुई सय ४७, धनकुटामा दुई सय ३६, काठमाडौँमा एक सय ९६, दार्चुलामा एक सय ९४,  सङ्खुवासभामा एक सय ५६ तथा चितवनमा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । 

कोशी प्रदेशमा बढी 

डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार एक सय ८२ जना यसबाट सङ्क्रमित भएका छन् । 

यस्तै बागमती प्रदेशमा एक हजार सात सय ९३, गण्डकीमा पाँच सय १०, सुदूरपश्चिममा चार सय १७,  लुम्बिनीमा दुई सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको महाखाले जनाएको छ ।  

मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झूल टाँगेरमात्र सुत्न, खेतबारीमा  काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ । यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गरेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।