‘तत्काल धेरै भारी वर्षाको सम्भावना छैन’

अर्थबिट २०८०-०५-१२ १५:०४:०० बजे

काठमाण्डौ ।  तत्काललाई धेरै भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका मौसमविद् रोजन लामिछाने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको बताउनुभयो । धेरै असर गर्ने खालको वर्षा तत्काल नहुने पनि उहाँले बताउनुभयो ।

लामिछानेका अनुसार अबको २४ घण्टामा देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । छिटफुट भारी वर्षा पनि हुनसक्ने उहाँले बताउनुभयो ।

पहाडी भूभागका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्नसक्ने गेग्र्यान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध भने गरेको छ । 

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

आज १२ गते राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । 

यस्तै  भोलि १३ गते देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस दिन राति देशभर आंशिकदेखि सामान्य बदली रहने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।