पृथ्वी राजमार्गको नौबिसे–मलेखु सडक राति बन्द हुने

अर्थबिट २०८०-०६-०२ १४:४७:०० बजे

मलेखु ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड असोज ४ गतेदेखि राति बन्द हुने भएको छ । सिम्लेदेखि मलेखु सडकखण्ड चौडा बनाउन पहरा कटान गर्नुपर्ने भएका कारण राति सो खण्डमा सवारी आवागमन बन्द गर्न लागिएको हो ।

असोज ४ गतेदेखि २० गतेसम्म राति ११ बजेदेखि ३ बजेसम्म चार घण्टा खयरघारी र पोखरेखोला नजिक सवारी आवागमन रोकेर काम गर्न लागिएको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिनुभयो ।

सोमबार बसेको सरोकारवालाहरूको बैठकले रातिको समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको सवारीबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गरिने निर्णय गरेको छ । सवारी बन्द गरेर काम गर्दा यात्रुलाई समस्या हुने भएकाले दिउँसो मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।

निर्माण कार्यस्थल नजिक हुने सक्ने सम्भावित सवारी चापलाई मध्यनजर गरी राजमार्गका उपयुक्त स्थानमा सवारीसाधन रोकी व्यवस्थापन गर्न पनि अनुरोध गरिने प्रमुख जिल्ला अधिकारी गैरेले जानकारी दनुभयो । उहाँले सम्बन्धित आयोजनाका तर्फबाट सबै पक्षलाई सूचित गर्न राष्ट्रिय दैनिक तथा अन्य सञ्चार माध्यमबाट सूचना प्रवाह गर्न र छिमेकी जिल्लासँग पनि समन्वय गरी यात्रुले दुःख नपाउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।