मिटर ब्याजसम्बन्धी तीन सय ८८ उजुरी फछ्र्याैट, दुई मुद्दा दर्ता

अर्थबिट २०८०-०६-१६ १५:५९:०० बजे

वीरगञ्ज ।  जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म तीन सय ८८ उजुरी फछ्र्याैट गरेको छ ।

अनलाइनबाट दर्ता भएका एक हजार तीन सय २१ उजुरीमध्ये छलफल विधिबाट तीन सय ८८ उजुरी पीडितको पक्षमा फछ्र्याैट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले जानकारी दिनुभयो । 

यस्तै सहमति नभएपछि दुई मुद्दा दर्ता भएको जनाएको छ । दर्ता भएका उजुरीमध्ये तीन सय ९० उजुरीको छानबिन गर्दा तीन सय ८८ वटामा दुवै पक्षबीच सहमति भएर फछ्र्याैट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार छानविनपश्चात ७८ कित्ताको १५ बिघा पाँच कठ्ठा ११ धुर जग्गा र दुवै पक्षको सहमतिमा रु सात करोड नौ लाख ३० हजार चार सय ७४ फिर्ता गराइएको छ ।

मिटर ब्याजीविरुद्ध हाल अनलाइनबाट दर्ता भएका उजुरीमा सबैभन्दा बढी लेनदेन र जग्गा–जमिनसम्बन्धी मिटर ब्याज पीडितको उजुरी बढी छ । कसै–कसैले थोरै रकम दिएर त्यसवापत बढीको कपाली तमसुक गरेको, दोब्बर तेब्बरसम्म बढीको बैंक चेक धितोवापत राख्ने प्रवृत्ति रहेको पाइएको उहाँले बताउनुभयो । परेको उजुरीको छानविनका क्रममा दुवै पक्षबाहेक कपाली वा अन्य कागजात लेख्ने लेखापढी, साक्षीलाई समेत कार्यालयमा बोलाएर आवश्यक सोधपुछ गर्ने, आवश्यक प्रमाण खोज्ने र सहमतिका लागि अधिकतम प्रयास गर्ने गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

छानविनका क्रममा लेनदेन गर्नेहरूको कागजमा उल्लेख रहेको रकम लेनदेन गर्ने हैसियत तथा आवश्यकता र स्रोत रहे÷नरहेको समेत अनुसन्धान गर्ने गरिएको उहाँको भनाइ छ ।

“उजुरीको छानविन गर्दा सकेसम्म सहमतिमै समस्या समाधान होस् भन्ने नै हाम्रो चाहना रहन्छ”, प्रजिअ रेग्मीले भन्नुभयो, “त्यहीअनुसार हामीले उजुरीकर्ता र आरोपित दुवै पक्षलाई सहमतिका लागि छलफल गराउँछौँ ।” अहिलेसम्म धेरैजसोमा सहमतिबाटै उजुरीको पछ्र्याैट भइरहेको छ, यो राम्रो पक्ष हो उहाँले भन्नुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।