काठमाण्डौ। आर्थिक महिला पत्रकार संघ(फेजा) को औपचारिक उद्घाटन भएको छ । सोमबार एक कार्यक्रमका बीच अर्थमन्त्री डा.प्रकाशशरण महतले पानसमा बत्ती बाल्दै उद्घाटन गरेका हुन।
फेजाको औपचारिक उद्घाटन तथा दशैँ तिहारको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले ठूलो अपेक्षाका साथ प्रोत्साहन गर्न उपस्थित भएको बताए । अर्थमन्त्री शर्माले भने, “आर्थिक क्षेत्रमा कलम चलाउने महिलाहरुको क्षमता वृद्धि विकासमा फेजा ठुलो महत्व पुर्याउने छ भन्ने विश्वासका साथ व्यस्तताका बाबजुत पनि यहाँ उपस्थित भएको छुँ।”
विभेद शक्ति नहुनेहरुमाथि इतिहासदेखि नै हुँदै आएको बताउँदै अर्थमन्त्री महतले सबै महिला पत्रकारलाई क्षमतावान बनाउन फेलाले ठूलो भूमिका खेल्ने बताए ।
पछिल्लो समय आर्थिक पत्रकारितामा महिलाहरुको सहभागिता बढ्दै गएपनि यतिले मात्रै नपुग्ने हुँदा थप क्षमतायुक्त महिला उत्पादनमा फेजाले काम गर्नुपर्ने उनको भनाई थियो।
‘संविधानले नै सुनिश्चितता गरेको अधिकारबाट अझै पनि कतिपय महिलाहरु वन्चित छन, फेजाको छुट्टै संरचनाले आर्थिक पत्रकारिताका साथसाथै महिलाहरुमा वित्तीय ज्ञान तथा सीपको विषयमा समेत थप निखरता आउने छ।’
कार्यक्रममा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले रमेश हमालले महिलाले जे–जति काम गरेपनि त्यसलाई आर्थिक पक्षसँग जोडेर नहेर्ने प्रवृति नेपालमा रहेको र त्यसलाई सुधार गर्न फेजाले महत्वपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको बताए।
फेजाले महिला पत्रकारको क्षमता अभिवृद्धि गरेसँगै समाचारको माध्यमबाट मुलकमै वित्तीय साक्षरता, सकारात्मक आर्थिक विकास, सही सूचना तथा ज्ञान पुग्नेमा आफू विस्वस्त रहेको बताए।
कार्यक्रममा उपस्थित सरकार, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, बीमा, पूँजीबजारसँग सम्बद्ध व्यक्तिहरुले फेजाले महिला आर्थिक पत्रकारमार्फत मुलुककै आर्थिक थायित्वको लागि सत्यतथ्य र ज्ञानर्वद्धक समाचार पस्कन सहयोग गर्ने अपेक्षा रहेको बताउँदै शुभकामना व्यक्त गरेका छन।
नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सामान्य अवस्थामा पनि महिलाहरुले केही गर्नको लागि धेरै संघर्ष गर्नुपर्ने नेपाली समाजमा आर्थिक महिला पत्रकार संगठित हुँनु सराहनीय रहेको बताईन। अध्यक्ष पोखरेलले विभिन्न ठाउँमा महिलाहरु महिलाहरुकै अवरोधविरुद्ध लड्नुपरेको भन्दै संगठित भएर आर्थिक क्षेत्रमा अगाडि बढ्नु प्रशंसनीय रहेको बताईन।
साथै पाँच वर्ष पहिला सेयर बजारको समाचार लेख्नकै लागि १–२ जनाले सोधपुछ गर्नेमा अहिले महिला दिदिबहिनी मात्रै पनि धेरैले सोधपुछ गर्ने उनले बताईन।
कार्यक्रममा सेबोनका अध्यक्ष हमाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्की, नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्री, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेँल, सञ्चारिका समुहकी अध्यक्ष बिमला तुम्खेवाको उपस्थिति थियो।
त्यस्तै नाफिजका उपाध्यक्ष मेनुका कार्की, इम्सनका अध्यक्ष रामराजा श्रेष्ठ, धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका अध्यक्ष सागर ढकाल, नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल आदीको उपस्थिति रहेको थियो।