अवैधरूपमा विदेशी विनिमय कारोबार गर्ने एक पक्राउ

अर्थबिट २०८०-०८-०७ १४:२२:०० बजे

काठमाण्डौ । हुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका–२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् । 

काठमाण्डौका विभिन्न स्थानमा केही व्यक्तिले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई अवैध रूपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतीय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको छ । साथै उनको घरबाट रु ८९ लाख ६९ हजार नेपाली, अमेरिकी डलर सात हजार २६, ल्यापटप ३ थान, सिपियु छ थान, टेलर मेसिन एक थान, सिसिटिभि एनभिआर एक थान, मोबाइल आठ थान, राहदानी दुई थान, नागरिकता एक थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।