मदन भण्डारी राजमार्ग : झापा–सुनसरी खण्डका १४ पुल निर्माण

अर्थबिट २०८०-०८-१२ १५:३३:०० बजे

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत  झापा–सुनसरी खण्डमा पर्ने ३७  पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम सकिएको छ । उहाँले निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर दूरीसम्मका रहेको जानकारी दिनुभयो ।

हालसम्म मोरङ, सुनसरी, झापा र इलामका खोलाका पुलको निर्माण सकिएको छ । डाले, मुगु, खुदुम, मोरङे, नुसारी, सुखानी सहादत्तस्थल, बुद्धि सुखानी, सुखानी खोला, टाङटिङ, बयङ्ग, तेली, विजुवा, बुकुवा, रतुवालगायतका खोलाको पुल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।  यसमध्ये सबैभन्दा लामो खुदुम खोलाको चार सय मिटर, तेली खोलाको तीन सय मिटर र सबैभन्दा छोटो डाले र बुकवा खोलाको ४० मिटर दूरीका पुल निर्माण भएका छन् ।

उहाँले कतिपय पुलको मूल संरचना सकिए पनि रुख कटान अनुमति लिने झन्झटिलो प्रक्रियाले एप्रोच सडक निर्माण गर्न समस्या भएको बताउनुभयो । कार्यालय दमकका प्रमुख खकुरेलले बाहुनडाँगीबाट सुनसरीस्थित धरानको सर्दुखोलासम्मको एक सय ३१ किलोमिटर सडक निर्माण हुँदै गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै पुलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ, तर बजेट अभावमा काम तीव्रगतिमा हुनसकेको छैन ।” उहाँले रु १० अर्ब १३ करोड लागतमा एक सय ३१ किलोमिटर सडक र ३७ पुलको ठेक्का लगाइए पनि सम्झौता गरिएका अधिकांश योजनाको भुक्तानी गर्न अझै रु तीन अर्ब ५० करोड बाँकी रहेको बताउनुभयो ।

सरकारले चालु आर्थिक वर्षमा रु ५० करोडमात्र सो राजमार्गका लागि बजेट विनियोजन गरेको छ । सो बजेटबमोजिमको निर्माणकार्य सकिएकाले हाल सरकारलाई थप बजेटका लागि पत्रसमेत पठाएर पहल गरिरहेको उहाँको भनाइ छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।