शेयर बजारमा ‘ट्रेडर’ मालामाल !

अर्थबिट २०८०-०९-२६ १२:४०:०० बजे

काठमाण्डौ । केही वर्षअघि शेयर किनबेच गर्न ब्रोकर कार्यालयहरुमा टाठाबाठा,बुज्रुक व्यक्ति र निजी तथा सरकारी कार्यालयबाट अवकाशप्राप्त कर्मचारीहरु मात्रै देखिन्थे । अधिकांश ब्रोकर कार्यालय काठमाण्डौंमा मात्रै सीमित थिए । काठमाण्डौको पनि अनामनगर र पुतलीसडकमा ब्रोकरहरुको अड्डा नै थियो । देशकै प्रशासनिक नर्भ सेन्टरका रुपमा रहेको सिंहदरबारभित्रका सरकारी कार्यालयका बहालवाला कर्मचारीहरु पनि शेयर किनबेचमा निक्कै सक्रिय हुन्थे ।

धितोपत्र बजारमा अनलाइन कारोबार प्रणाली आउनुअघि शेयर बजारमा ब्रोकरहरुको दबदबा नै थियो । शेयर किनबेच म्यानुअल हुने भएकाले उनीहरु अनुकुल बजार पनि चल्दथ्यो । किनबेचमा ब्रोकरलाई नै गुहार्नु परेपछि लगानी निर्णयसमेत सुस्त हुन्थ्यो । कम्पनी र नेप्से परिसूचक उत्तारचढावमा ब्रोकरहरुको हालीमुहाली समेत रहेका विगतमा लगानीकर्ताहरु शेयर किन्दा दीर्घकालीन रुपमा लाभांशका लागि मरिहत्ते गरेर होल्ड गर्ने अर्को पाटो थियो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले शेयर अनलाइन कारोबार प्रणाली धितोपत्र बजारमा पूर्ण अनलाइन कारोबार प्रणाली भित्र्याएको पनि ५ वर्ष बितिसक्यो । अनलाइन कारोबार प्रणाली टीएमएस आएसँगै देशभर इन्टरनेटको माध्यमबाट सहजै स्वयं किनबेच गर्नसक्ने अवस्था सिर्जना भएको छ । अनलाइन कारोबारकै कारण अब विदेशबाट समेत शेयर किनबेच सम्भव छ ।  हिजोआज दोस्रो बजारमा लाखौं लगानीकर्ताहरु सक्रिय शेयर किनबेचमा संलग्न रहेका छन् । उसो त युवाहरुको उपस्थिति पनि निकै लोभलाग्दो ढंगले बढ्दै गइरहेको छ । शेयर कारोबारमा प्रविधिको विकास भएसँगै कारोबारको प्रकृति पनि बदलिएको छ अनि लगानीकर्ताको मनोविज्ञान पनि । माहोल र परिस्थितिले धेरैलाई लगानीकर्ताबाट ट्रेडर(अल्पकालीन शेयर कारोबारी) बनाउँदै लगिरहेको छ । केही हजार कित्ता खरिदले पनि कम्पनीको शेयरमूल्यमा पोजिटिभ सर्किट लगाउने अवस्था  सिर्जना भइरहेको छ । यसै सेरोफेरोमा रहेर अर्थबिटले शेयर बजारमा ट्रेडरका रुपमा परिचय बनाउँदै गएका केही प्रतिनिधिहरुसँग कुराकानी गरेको थियो । 

काठमाण्डौ गोङ्गबु निवासी अर्जुन आचार्य २०६५ सालताका शेयर बजार पसेका लगानीकर्ता हुन् तर परिस्थितिका कारण उनी ३ वर्षयता भने ट्रेडरमा परिणत भएका छन् । “नेप्से ३२ सय पुगेको बेला म बजारमा फसे तर नेप्से १८ सयबाट २१ सय विन्दू उक्लिदा नै मैले मेरो सबै नोक्सान रिकभर गरिसकेको छु । ”,उनले जिकिर गरे,“यही बीचमा पनि मैले २–३ वटा मौका गुमाएका कारण छोटो समयमै मेरो ३२ सय हुँदाको पोर्टफोलियो दोब्बर बनाउने मौका चुकेकोमा केही खल्लो अनुभूति पनि गरेको छु ।”

पछिल्लो समय शेयर बजारमा ट्रेडर हावी भएको आचार्यको स्वीकारोक्ति छ । उहिले ४–५ वर्षसम्म लाभांशकै लागि शेयर होल्ड गर्ने उनी अहिले ट्रेडरका रुपमा परिचय तल्लीन छन् । पूँजीगत लाभले आफूलाई आकर्षित गरेको उनले अर्थबिटलाई बताए । हुन त इन्भेष्टरबाट ट्रेडर बन्न अझै सफल नभइसकेको उनको भोगाइ छ । छोटो समयमा बजारको उत्तारचढावले ५०–६० प्रतिशत कमाउन मौका दिने जिकिर गरेका उनी ट्रेडमा कहिलेकाहीँ घातक अवस्था पनि आउने बताउँछन् ।“बुल नै आएपछि बजार लगातार बढ्दैन भन्ने मेरो भोगाइ भएकाले ट्रेडर हुनुको विकल्प नै रहेन ।”उनी भन्छन् । 

पछिल्लो समय शेयर बजारमा ट्रेडर हावी हुनुमा नेपाल राष्ट्र बैंकको पनि मुख्य भूमिका रहेको आचार्यको ठहर छ । ठूला लगानीकर्ता ठूलो रकम लिएर बजार तत्काल प्रवेश गर्न राष्ट्र बैंकले शेयर कर्जामा लगाइएको सीमाले रोकेको उनले दाबी गरे । बजारमा ट्रेडरको कब्जा ८० प्रतिशत नै रहेको उनी ठोकुवा गर्छन् । 

यसैबीच विगत ८ वर्षयता शेयर कारोबारीका रुपमा सक्रिय चितवनका रोहन शर्मा आफूलाई ट्रेडरकै रुपमा परिचय दिन चाहन्छन् । रोजगारीका सिलसिलामा दक्षिण कोरियामा एक दशकभन्दा बढी समय बिताएर हाल नेपालमै रहेका उनी दैनिक शेयर किनबेच गरेरै लाखौं कमाउन सफल छन् । “राम्रा कम्पनीमध्ये कुनै एउटा मन परेको स्टकमा ट्रेडिङ्ग गरिरहन्छु ।”,उनी भन्छन् “शेयर कारोबार पूर्ण अनलाइन भएपछि डे ट्रेडिङ्ग पनि गरिरहन्छु ।”  

दैनिक भोलाइट मार्केट भएकै कारण अल्पकालीन शेयर किनबेचमा राम्रो कमाइ हुने शर्माको भोगाइ छ । वियरिस ट्रेण्डमा अलिक गाह्रो भएतापनि बुल मार्केटमा मनग्य आम्दानी गर्न सकिने दाबी गरेका उनले बजारका यथेष्ट ज्ञान,सीप र प्राविधिक ज्ञानले ट्रेडरका रुपमा स्थापित हुन सकिने उको बुझाइ छ । 

त्यसैगरी काठमाण्डौ कालीमाटी निवासी विवेक अधिकारी विगत ४ वर्षयता ट्रेडरका चिनिन्छन् । शेयर बजारमा ट्रेडर हावी हुँदै गइरहेको बताउने उनी बढाए पोजिटिभ सर्किट लगाउने र घटाउँदा पनि नेगेटिभ सर्किट लगाउने प्रवित्ति रहेको बताउँछन् । टीएमएसमा एमकेटी अप्सन धेरै नै प्रयोग हुन थालेको उनले सुनाए । सक्रिय ट्रेडरको हालीमुहाली बजारमा बढ्दै गएको बताउँदै २०–३० वर्षका युवाहरुको बाक्लो प्रवेशले समेत ट्रेडमा जोखिम लिने संख्या बढेको उनको बुझाइ छ । बजारमा भोल्युम बढ्ने बित्तिकै हुरहुरी ट्रेडरहरु पस्ने परिपाटी रहेको उनले सुनाए । कम्पनीको आधारभूत पक्षभन्दा पम्प एण्ड डम्प स्टकमा ट्रेडरहरु छिर्ने दाबी गरेका उनले उच्च बिटा(बिटा भन्नाले जोखिम मापन गर्ने एक औजार) र भोलाटायल स्टकमा पनि बाक्लो भीड लाग्ने गरेको उनको अनुभव छ । मोमेन्टमलाई पनि ख्याल गर्दै ट्रेड गर्नेहरु बढ्दै गइरहेको उको ठम्याइ छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।