शेयर बजारमा पछिल्लो समय ग्याम्बलिङ्ग चलिरहेको छ : अग्रवाल

अर्थबिट २०८०-०९-२९ १२:४२:०० बजे

काठमाण्डौ । शेयर बजारमा पछिल्लो समय ग्याम्बलिङ्ग चलिरहेको लगानीकर्ताहरुको धारणा रहेको छ । 

२ दशकभन्दा बढी लामो समयदेखि सक्रिय शेयर लगानीकर्ता प्रवीण अग्रवालले यस्तो धारणा व्यक्त गरेका हुन् । 

कम्पनीको नेटवर्थ नेगेटिभ भएका, लाभांश क्षमता निकै कमजोर ठहरिएका तर बजारमा आपूर्ति एकदमै कम भएका शेयरमा ग्याम्बलिङ्ग भइरहेको अग्रवालले दाबी गरेका हुन् । “मुक्तिनाथ कृषि कम्पनीले आगामी ५ वर्षसम्म केही प्रतिफल पनि दिन सक्दैन तर मूल्य भने रु.१ हजार माथि पुर्याएको छ । के यो मूल्य न्यायोचित छ ?”उनी प्रश्न गर्छन्,“ सोझो सीधा लगानीकर्ताहरुलाई टोपी लाउने काम मात्रै हो । यो त सरासर नाजायज हो ।” 

बैंक तथा वित्तीय संस्थाको शेयर आपूर्ति धेरै भएकाले अहिले बजारको ट्रेण्ड नै स–साना पूँजी भएका कम शेयर आपूर्ति भएको कम्पनीको शेयरमूल्य उचाल्ने काम भइरहेको अग्रवालको बुझाइ छ । राम्रो भन्दा नराम्रो कम्पनीको शेयरमूल्य आकाशिएकोमा उनी समेत अचम्मित भएको बताउँछन् । “शेयर कर्नरिङ्ग खुलेआम भइरहँदासमेत नियामक निकायले केही सोच्नुपर्ने हो । हेरौं कति दिनसम्म यसरी चलिरहन्छ ।” ,उनले अर्थबिटसँग भने । 

“सेबोनले म्युचुअल फण्डले प्राप्त गरेको आईपीओको शेयरको आपूर्ति रोक्नु नै कर्नरिङ्गलाई बढावा र महत्व दिनु हो”, युवा शेयर लगानीकर्ता आदित्य चापागाईंले आरोप लगाए । बजारमा अहिले हाथवेको शेयरमूल्य ओभरभ्यालुड भएको उनको बुझाई छ । हाथवेले पर्याप्त शेयर लगानी गरेको भन्ने लगानीकर्ताको मनोविज्ञानले मात्रै कम्पनीको शेयरमूल्य उचालिएको उनले टिप्पणीसमेत गरे । 

चापागाईंले कर्नरिङ्गलाई सेबोनले बाटो खोलिदिएकै कारण दैनिक पोजिटिभ सर्किट लागिरहेको जिकिर गरे । म्युचुअल फण्डको लकईन पिरियड तत्काल नखोल्ने हो भने नवप्रवेशी लगानीकर्ताहरु उच्च मूल्यमा फस्ने जाखिम बढिरहेको उनको भनाइ छ । “म्युचुअल फण्डलाई लकइन व्यवस्था ठी होइन यसले खेलाडीलाई कर्नरिङ्गमा प्रोत्साहन गरिरहेको छ ।”उनले अर्थबिटसँग भने,“बजार अर्गानिक 'वे' मा चल्नु दीर्घकालीन हिसाबले मनासिब ठहर्छ ।”

सेबोनले गत कात्तिक २० गतेदेखि सम्पूर्ण योजना व्यवस्थापकहरुलाई निर्देशन दिँदै म्युचअल फण्डले खरिद गरेको कोटाबापतको ५ प्रतिशत आरक्षित शेयर ६ महिना अवधिसम्म बिक्री वा हस्तान्तरण गर्न नपाउने व्यवस्था गरेको थियो । पछिल्लो बजारको बढाईमा सेबोनले म्युचुअल फण्डहरुलाई आइपीओ शेयर बिक्रीमा लगाएको बन्देजकै कारण आपूर्ति कम भई खेलाडीहरुले नयाँ कम्पनीका शेयरहरुमा दैनिकजसो पोजिटिभ सर्किट लगाउँदै मूल्य उचालिरहेका देखिन्छ । लगानीकर्ताको मनोविज्ञानमा खेल्दै उच्च मूल्यमा शेयर बिक्री गरिसकेपछि बजारबाट उम्किने र अन्त्यमा उच्च मूल्यमा खरिद गर्ने लगानीकर्ताहरु अझै मूल्य बढ्ने प्रतीक्षामा रहेका भेटिन्छन् । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।