काठमाण्डौ । यो साताको शेयर कारोबार हुने पहिलो दिन गत आइतबार नेप्से परिसूचक ३१.६२ अंकले वृद्धिका साथ ५.४५ अर्ब रुपैयाँ कारोबार सम्पन्न भयो । हिजो सार्वजनिक बिदा भएका कारण आज मंगलबार शेयर बजार खुल्दैछ । शेयर बजारको घटबढमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।
देव गुरागाई
तरलता र ब्याजदर तथा शेयर बजारको अन्तरसम्बन्ध ६० प्रतिशत नै घनिष्ठ छ । बजार माझिएर उकालो लाग्दैछ । बजार थप राम्रो अनि दिगो हुन्छ भन्ने मेरो अनुमान छ । यस बेला जोखिम पनि न्यून हुन्छ कि जस्तो लाग्छ । नेप्से २१ सय विन्दू पार मात्रै भएको छ । बजार अवस्य पनि सुधार भएको हो । बजार चाहिँ सुधारोन्मुख होला ।
पिताम्बर गौतम
आज मंगलबार शेयर बजारले सकारात्मक लय नै समाउने मेरो व्यक्तिगत बुझाइ हो । प्राविधिक कोणबाट नियाल्दा दैनिक बोलिङ्गर ब्यान्डको मध्य भागबाट फर्केको बजार अथवा सपोर्ट लिएको बजारमा ब्यान्डको माथिल्लो भाग क्रमशः खुल्न लागेको देखिन्छ जसले बजार बढ्ने नै संकेत गर्दछ । त्यसैगरी एमएसिडीमा पनि पोजिटिभ क्रसओभर हुनै लागेको देखिन्छ, आज मंगलबार माघ महिनाको पहिलो शेयर कारोबार हुने दिन भएका कारणले पुष महिनाको मासिक चार्टबाट पनि बजार सकारात्मक रहेको देखिन्छ । पुष महिनामा बजारले बोलिङ्गर ब्यान्डको मध्य भागमा सपोर्ट लिएको छ भने ब्यान्डहरु(अप्पर र लोअर दुवै) पनि क्रमशः खुलिरहेको देखिन्छ । त्यसैगरी डिसेम्बर २०२१ मा नेगेटिभ क्रसओभर लिएको एमएसिडीले पुस महिनामा पोजिटिभ क्रसओभर दिएको देखिन्छ । आधारभूत रुपमा बजारलाई हेर्दा बैंकको ब्याजदर क्रमश कम हुँदै गएको छ भने गत महिना सार्वजनिक राष्ट्रिय तथ्यांक कार्यालयको तथ्यांकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहेको उल्लेख गरेको छ । विभिन्न रिपोर्टमा सार्वजनिक भएअनुसार बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोकर्जा समेत उल्लेख्य रुपमा बढिरहेको देखिन्छ र सोको ब्याजदर समेत घट्दै गइरहेको देखिन्छ । माथि उल्लेखित प्राविधिक तथा आधारभूत तथ्यहरुका बलियो आधारमा बजारले सकारात्मक लय समात्ने अपेक्षा गर्न सकिन्छ ।
अमिर तिमिल्सिना
आज शेयर बजारमा बिस्तारै हाइड्रो, उत्पादन,इन्स्योरेन्स सेक्टरमा मुभमेन्ट आउन सक्छ । किनभने उत्पादनमा नयाँ नयाँ कम्पनीहरु आइरहेको त छ नै तिनै कम्पनीहरुले सोही समूहको इन्डेक्स उच्च बनाउँदै लैजाने सम्भावना पनि प्रबल हुन्छ । इन्स्योरेन्स कम्पनीहरुको आगामी दिनमा लाभांश प्रस्तावहरु धमाधम आउने समय छ । चुक्ता पूँजी अपुग भएका निर्जीवन बीमा कम्पनीहरुले नेपाल पुर्नबीमा कम्पनीको शेयर बिक्री गरिरहेको छ । यसले निर्जीवन बीमा कम्पनीहरु चलायमान हुन सक्छ । घट्दो ब्याजदर र प्राधिकरणद्वारा हालसालै जारी निर्देशनले बीमा कम्पनीहरुको लगानी सीमा बढेको लगायत कारणले बजारमा सकारात्मक माहौल सिर्जना भएको देखिन्छ । छिट्टै नै यही माघभित्रै नेप्से २२ सय ७७ विन्दूलाई ब्रेक गरी थप नयाँ उचाई लिने प्रबल सम्भावना देखेको छु ।
अभिषेक अधिकारी
पुसपछिको पहिलो कारोबार हुने आज मंगलबार ऋणको किस्ता बुझाइसकेको हुन्छ । सबैतिर पोजिटिभ माहौल छ ब्याजदर पनि घट्ने क्रममा नै छन् । बैंकहरुको कमाइ राम्रै आइरहेको देखिन्छ । यसले लगानीकर्ताहरुको सकारात्मक मनोविज्ञान सिर्जना भइरहेको छ । कारोबार रकम र सकारात्मक सेक्टरका रुपमा मानिदै आएको हाइड्रो सेक्टर नै अबको केही समय हावी होला । नेप्सेले आज २१ सय ५० विन्दूलाई टेष्ट गर्ला ।
नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।