शेयर बजार अझै माथि जान्छ ?, यस्तो छ विज्ञहरुको दाबी

अर्थबिट २०८०-१०-०३ ११:३४:०० बजे

काठमाण्डौ । नेप्से परिसूचकको लगातार वृद्धि र उल्लेख्य कारोबार रकमले शेयर बजार गुल्जार भइरहेको छ । 

नेपाल राष्ट्र बैंकले शेयर कर्जाको जोखिम भार घटाउँदै खुकुलो कर्जा नीति लिनु , आर्थिक मन्दीका बीच सार्वजनिक तथ्यांक(राष्ट्रिय तथ्यांक विभागले चालु आवको पहिलो त्रैमासमा जीडीपी ३.२ प्रतिशतले वृद्धि) ले राहतको श्वास फेर्नु, निक्षेपको ब्याजदर घट्दै जानु, नेपाल–भारतबीच १० हजार मेगावाट विद्युत् खरिदबिक्री सम्झौता हुनु लगायतका कारणले लगानीकर्ताको आत्मविश्वास र मनोविज्ञानमा सकारात्मक प्रभाव परी शेयर बजार गुल्जार भइरहेको हो । 

शेयर बजारको हालको अवस्था र आगामी दिनमा कस्तो रहला भन्ने विषयमा अर्थबिटले केही विज्ञहरुको धारणा समेटेको छ । 

ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीज लि.का कार्यकारी अध्यक्ष अनन्त कुमार पौडेलले पछिल्लो समय बजारमा लगानीकर्ताहरुको उपस्थिति बाक्लिदै गइरहेको जानकारी दिए । “ अब बजार चल्छ भनेर लगानीकर्ताहरु फर्किएको अवस्था छ । घट्दो ब्याजदरले बजारका लागि अझ राम्रो हुने देखिन्छ ।”,उनले अर्थबिटसँगको कुराकानीमा भने,“ अहिले चाहिँ ब्याजदर र तरलतारले माहोल राम्रै देखिन्छ ।”

पौडेलका अनुसार संस्थागत लगानीकर्ताहरुले समेत हाल बजारलाई नियाल्दै सक्रिय भइरहेका छन् । बजार पूँजीगत लाभमा आकर्षण भइरहेको उनले बताए । अब विस्तारै संस्थागत लगानीकर्ता छिर्ने वातावरण बनिरहेको उनले संकेत गरे । “माघको दोस्रो साता मौद्रिक नीतिको समीक्षा  हुने र यदि पुनरावलोकनमा लचिलो नीति थप आएमा बजार थप उचालिन सक्छ । माघपछि बैंकको रिपोर्ट कस्तो आउला भन्ने दोधार पनि बजारमा यथावत नै छ यद्यपि तरलताको सहज अवस्था र राष्ट्र बैंक थप केही लचक आगामी दिन बजारका लागि राम्रै हुने उनको अपेक्षा छ । कम पूँजी भएका कम्पनीको न्यून शेयर आपूर्तिमा आकर्षित बजार करेक्सन हुँदै माथि जाने उनले अनुमान गरे ।  

बजार वियरिस चरणबाट ओरालोको यात्रालाई बिट मार्दै बुलको सुरुवात भएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्व महासचिव तथा ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालिका एमडी गुणनिधी भुसाल दाबी गर्छन् । राष्ट्र बैंक थप लचिलो भएमा र घट्दो ब्याजदरको सपोर्टमा बजार उकालो लाग्ने उनको बुझाइ छ । “हालसालै सार्वजनिक भएका अर्थतन्त्रका सूचकहरुको सुधारले थप सकारात्मक हुने र बजार अझै माथि जान मद्धत गर्ला ।”उनले अर्थबिटसँग भने,“ बजारमा ३०० अंकको रिकभर भयो र केही कम्पनीमा त उछाल नै आयो । बैंक तथा वित्तीय संस्थाका रिपोर्टमा राम्रो आए थप बजार चलायमान हुन्छ ।”

नीतिमा सकारात्मक परिवर्तन आए बजार धेरै माथि उचालिने भुसालको जिकिर छ । आगामी चैत महिना पछि भने बजारले थप उकालो यात्राको तय गर्न सक्ने दाबी गर्दै बजार तत्काल बढीमा २० प्रतिशत बढ्ने अनुमानसमेत गरे । यही बीचमा नीति परिवर्तन भए भने माथि भनिएका कुरा लाग नहुने उनको भनाइ छ । 

बजारमा भइरहेको भोल्युम, पुरानै लगानीकर्ताको मनोविज्ञान,सर्टटम कारोबारी,प्रफिट बुक, सेफ ल्यान्डिङ्ग लगायत विषयले बजार माझिएर गएको विश्लेषक देव गुरागाईंको तर्क छ । अर्थतन्त्रमा अपेक्षाकृत सुधार नभए तापनि वित्तीय अवस्था(ब्याजदर,तरलता, राष्ट्र बैंकको नीतिगत सुधार  ) का कारण सकारात्मक ‘भाइब्स’ छरिएको र बजार माझिएर आक्रमक शेयर खरिद हुँदा नेप्से सूचक र कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको उनको विश्लेषण छ । अर्थतन्त्रको कारण प्रतिफल भन्दा पूँजीगत लाभमा लगानीकर्ताको जोड रहेको उल्लेख गर्दै यसअघि नोक्सानमा रहेका लगानीकर्ता होल्ड गरिरहेको उनले जिकिर गरे । उनका अनुसार आगामी दिनमा बजार बजार सुधारात्मक हुँदै सकारात्मक लय समात्छ । 

शेयर बजारमा संस्थागत लगानीकर्ताको क्याप हटेमा बजार सुधार हुँदै जाने उनको आंकलन छ ।“लगानीकर्ताको मनोविज्ञान र घट्दो ब्याजदरको सकारात्मक प्रभाव बजारमा छ अनि  नेपाल बीमा प्राधिकरणद्वारा भएको लगानी नीति संसोधन जस्तै भोलिका दिनमा राष्ट्र बेंकले पनि बैंकको लगानी नीति संसोधन भएमा बजारले थप उचाई हासिल गर्नसक्छ ।”गुरागाईं दाबी गर्छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।