भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

अर्थबिट २०८०-१०-०३ ०७:४८:०० बजे

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । 

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आज भएको छलफलमा प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिनुभएको हो ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो आएको उल्लेख गर्दै तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु-गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला ।”

प्रधानमन्त्रीले पालिकास्तरसम्म गएर वैदेशिक रोजगारी र भिजिट भिसाबारे चेतनामूलक कार्यक्रम गर्न, राष्ट्र र जनताको हितमा काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।