काठमाण्डौ । साताको पहिलो दिन आइतबार धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आयो । हाइड्रोपावर र अन्य सूचकमात्रै हरियो भएको हिजो परिसूचक १ दशमलव १८ प्रतिशत घटेर २ हजार १३० दशमलव १८ विन्दू कायम हुन पुगेको थियो । शेयर बजारको उत्तारचढावमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेको छ ।
सुशिला थपलिया
हिजोको बजार घटाई चाहिँ बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय प्रतिवेदनको प्रभाव थियो,जुन अपेक्षाकृत नै थियो । यद्यपि बृहत मनोविज्ञानले बजारलाई छिटपुट प्रभाव परेको मेरो विश्लेषण छ । मेरो अनुभवमा भन्नुपर्दा यो प्रभाव आजभोलिसम्म मात्रै कायम रहला । बजारले सकारात्मक लय नै समाउँछ ।
प्रमिला राजभण्डारी
आइतबार इन्ट्राडे करेक्सन हुँदै बजारलाई कारोबारको दरिलो साथ रहेको छ । आज चाहिँ अन्तिम प्रहरतिर उकालो लाग्ला कि भन्ने मेरो अनुमान हो । लगातार ३ दिनको नेप्से परिसूचकको घटाईमा आज सोमबार कारोबारको पहिलो सत्रमा थोरै घटेर उकालो लय नै समाउँछ कि जस्तो लाग्दछ । पछिल्लो समयमा अन्य सेक्टर ठप्प हुनु, शेयर कारोबारका लागि नयाँ लगानीकर्ताको भीड बाक्लिदै जानुले बजारमा सुखद यात्राको आंकलन लगाउन सकिन्छ ।
राधिका भट्टराई
आज सोमबार बजारमा थोरै घटेर बढ्छ कि जस्तो लाग्दछ । सानोतिनो करेक्सन आउने पो होकि । पछिल्ला केही दिन घटिरहेको बजारमा लगानीकर्ताहरुले नाफा बुक गरेको भन्ने मेरो आंकलन छ । गत साता बजार लगातार बढेको थियो ,नाफा बुक हुँदा बजारमा केही करेक्सन स्वभावतः भएको मेरो ठम्याइ छ ।
नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।