काठमाण्डौ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा शून्य दशमलव ४० अङ्कको मात्रै झिनो गिरावट देखियो । नेप्से परिसूचक शून्य दशमलव ०१ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव २९ विन्दूमा कायम हुँदा ४.२९ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको थियो । शेयर बजारको घटबढमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सिलसिलामा अर्थबिटले लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।
सागर खतिवडा
आज बुधबार बजार राम्रै अंकले सुधार हुने मेरो चाहिँ बुझाई छ । प्राविधिक विश्लेषण गर्ने लगानीकर्ताहरु आजकल बढिरहेका छन् । प्राविधिक विश्लेषणमा देखिएको ‘ग्याप’ पूर्णता दिन आएकाले ट्रेडरहरु निष्क्रिय हुँदा बजारमा केही दिनयता निरन्तर करेक्सन आएको हो । अब बजार उर्लिएर बढ्ने नै हो ।
विष्णु सुवेदी
कारोबार रकम घटिरहेको छ । आजदेखि बजारले ‘अपट्रेण्ड’ लिनसक्ने मेरो अनुमान छ । यसअघि जुन कम्पनीहरुको शेयर खरिद गरेका लगानीकर्ताले मुनाफा बुक गर्दै पुनःसोही किन्दै जाने प्रवृत्ति देखिन्छ । जुन कम्पनीको शेयरमूल्य घटेको छ सोही कम्पनीमा लगानीकर्ताहरु आकर्षित भइरहेको अवस्था हो । नेप्से परिसूचकको पछिल्लो वृद्धिमा चाहिँ ब्रोकरको उधारोको मुख्य भूमिका छ । त्यही भएर राफसाफ तथा नाफा बुक गर्न बिक्री चाप परेको मेरो विश्लेषण हो । मेरो विचारमा आज नाफा बुक गरेका सेक्टर उत्पादन तथा लगानी सेक्टरमा ‘अपट्रेण्ड’ देखिन सक्ला ।
केशव अधिकारी
आज बजार सकारात्मक नै हुन्छ । नेप्से परिसूचक १५ देखि २० अंकले बजार सकारारत्मक हुन्छ । करेक्सन सक्किएको भन्ने मेरो ठहर हो । नेप्से २ हजार ८० विन्दूसम्म आउने मेरो यसअघिकै आङ्कलनमा २ हजार ८८ विन्दूबाट बजार फर्किदै अब २२ सय विन्दू उन्मुख छ । पछिल्लो समयमा कारोबार रकमको बलियो साथ रहेकाले समेत बजार परिपक्व हुँदै गइरहेको मेरो विश्लेषण हो । म चाहिँ नेप्से २३ सय विन्दू पुग्ने आशामा ढुक्कसँग लगानी गरिरहेको छु ।
नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।