खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान

अर्थबिट २०८०-१०-२८ ११:००:०० बजे

काठमाण्डौ ।  नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ ।

विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो ।

विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिनुभयो । नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उहाँको भनाइ थियो ।

मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ९६ खानीलाई उत्खननका लागि अनुमति दिएको महाशाखाका प्रमुख घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अनुमति प्रदान गरिएकामा टुर्मालिन तीन, टल्क १३, क्वार्ज दुई, काइनाइट पाँच, मार्वल एक, रातोमाटो दुई, फलाम एक, जिङ्क एक, क्वार्जजाइट १३, म्याग्नेसाइट दुई, डोलोमाइट तीन र तामाका दुई खानी रहेका छन् ।

घिमिरेले पछिल्लो समय चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि ९६ खानीलाई अनुमति प्रदान गरिएको जानकारी दिनुभयो । पछिल्लो समय नेपालमा उत्पादित सिमेन्टसमेत विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । “नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्यधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चापदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो”, उहाँले भन्नुभयो ।

यस्तै विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका विभिन्न कम्पनीलाई उत्खनन कार्य समयमा सुरु नगरेको भन्दै रद्द गर्दै आएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।