काठमाण्डौ । मंगलबार नेप्से परिसूचकमा ३० दशमलव पाँच छ अंकको भारी गिरावट देखियो । नेप्से परिसूचक १ दशमलव चार पाँच प्रतिशतले घटेर दुई हजार ७० दशमलव पाँच नौ विन्दू कायम हुँदा ४.६७ अर्ब रुपैयाँ हाराहारी मात्रै शेयर कारोबार भएको थियो । गत सोमबार साँझ नै नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको आंशिक प्रभावसमेत सोमबारको बजारमा परेको बताइन्छ । शेयर बजारको उत्तारचढावमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सेरोफेरोमा रही अर्थबिटमार्फत् लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।
बिनोद बजगाईं
सोमबार प्रकाशित मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा शेयर बजारमैत्री छ भन्ने मेरो बुझाइ हो । हामी लगानीकर्ताहरुको अपेक्षा अलिक बढी नै थियो । शेयरधितो कर्जाको सीमामा पुनरावलोकन नभएको कारण लगानीकर्ताहरुको सेन्टिमेन्ट बिग्रेको देखिन्छ यद्यपि अर्थतन्त्रका समग्र सूचकहरु भने सुधारोन्मुख देखिन्छ । राष्ट बैंकले अविलम्ब संस्थागत तथा ठूला लगानीकर्तालाई शेयर धितो कर्जाको सीमामा पुनरावलोकन गर्दै सहज गरिदिएको खण्डमा नेप्से परिसूचक उकालो लाग्ने आशा राख्न सकिन्छ । बजार अझै केही समय साइडवेज नै होला तत्काल माथि नै जानसक्ने सम्भावना कमै रहेको मेरो अनुमान छ ।
सिर्जना सुवेदी
मौद्रिक नीतिको समीक्षा सोचेअनुरुप नआएको कारण बजारमा लगानीकर्ताहरुको मनोबल खस्किएको मेरो बुझाइ छ । यसका साथै बजारमा उचालिएका केही कम्पनीहरुको रिपोर्ट नकारात्मक आएपछि लगानीकर्ताहरुको मनोबलसमेत खस्केको हुनसक्छ । कम्पनीका रिपोर्टहरु अपेक्षा अनुरुप राम्रो नआउँदा लगानीकर्ताहरु निराश बनी आत्तिएर शेयर बिक्री गर्ने प्रवृत्ति हावी भइरहेको बजारमा देखिन्छ । आज बजार साइडवेज नै हुने मेरो आङ्गलन छ ।
दीपक अर्याल
मेरो अनुमानमा अझै केही दिन बजारमा मुमेन्टम नहोला । बजार उकालो लागे पनि आज झिनो अंकले मात्रै बढ्ने मेरो अनुमान छ । बजारले पिकअप नलिनमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा संस्थागत लगानीकर्ताहरुकोे अपेक्षा सम्बोधन नहुनु र नेप्से परिसूचक २ हजार ६० विन्दूसम्म आउनसक्ने मेरो पुर्वअनुमान हो ।
नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।