काठमाण्डौ । आइतबार नेप्से परिसूचकमा २७ दशमलव दुई एक अंकको गिरावट भयो । नेप्से परिसूचक १ दशमलव तीन एक प्रतिशतले घटेर दुई हजार ३४ दशमलव आठ दुई विन्दू कायम हुँदा ३.७७ अर्ब रुपैयाँ हाराहारी मात्रै शेयर कारोबार भएको थियो । हिजो सोमबार सार्वजनिक बिदा परेका कारण शेयर कारोबार हुनसकेन । शेयर बजारको उत्तारचढावमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सेरोफेरोमा रही अर्थबिटमार्फत् लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।
अर्जुन राज आचार्य
सायद आज बजार अलिअलि अन्त्यतिर घट्ला कि जस्तो लाग्छ । यदि सुरुमा कम भोल्युमसहित कारोबार भई घटेमा भने बजार बढ्ने सम्भावना अधिक छ । किनकि कम भोल्युम आउनुको अर्थ चाहिँ बजार झारेर किन्न खोजेको बुझिन्छ । यदि भोल्युमसहित बजार झर्यो भने अझै घट्ने भन्ने अनुमानले बजार घट्छ भन्ने बुझिन्छ ।
रोशन केसी
आज झिनो अंकले बजार सुधार होला भन्ने मेरो अनुमान छ । धेरै दिन घटेका कारण अरु सेक्टरमा गिरावट आए तापनि शेयर बजारमा केही सुधार होला । पछिल्लो समयमा फैलिइरहेको नकारात्मक अफवाहका बाबजूद आज बाट भने बजारले सकारात्मक लय समाउला ।
सिद्धार्थ सेढाईं
आज चाहिँ बजार सुरुवाती चरणमा गिरावट आए तापनि अन्तिम समयमा बजार सुधार हुने मेरो आङ्कलन छ । यदि आज बजारमा डोजी क्यान्डल बनी रिभर्सल भयो भने चाहिँ आगामी दिनमा बजारले राम्रो बाउन्स दिन सक्ने मेरो अनुमान छ । सम्भवतः आज खरिदको लागि सुवर्ण अवसर हो जस्तो लाग्छ ।
नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।