काठमाण्डौ । बुधबार नेप्से परिसूचकमा २० दशमलव सात छ अंकको गिरावट देखियो । नेप्से परिसूचक १ दशमलव शून्य दुई प्रतिशतले घटेर दुई हजार ५ दशमलव आठ तीन विन्दू कायम हुँदा ३.२० अर्ब रुपैयाँ हाराहारी मात्रै शेयर कारोबार भएको थियो । शेयर बजारको उत्तारचढावमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सेरोफेरोमा रही अर्थबिटमार्फत् लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।
राजेन्द्र भट्टराई
रिभर्सल सिग्नल नदेखिएको कारण बजार तत्काल सुधार नहुने मेरो अनुमान छ । बजारमा थप करेक्सन आउनसक्छ जस्तो लाग्छ । प्राविधिक रुपमा हेर्दा नेप्से परिसूचक १९ सय ५० विन्दूसम्म ओर्लिनसक्ने मेरो व्यक्तिगत बुझाई हो । मेरो ठम्याईमा फ्रेस इन्ट्रीका लागि भने रिभर्सल सिग्नल नै देखिन जरुरी छ ।
माधव पाण्डे
म आज आइतबार शेयर बजारमा अलिक अन्यौलपूर्ण अवस्था देख्दैछु । घट्ने बलियो आधार नभएको र बजार बढ्नमा लगानीकर्ताहरुको आत्मविश्वासको कमी देख्दैछु । यसैकारण परिसूचकमा सानो उत्तारचढाव मात्रै देखिने मेरो अनुमान हो ।
हेमन्त सुवेदी
बजारमा अलिक म चाहिँ अन्यौल नै देखिरहेको छु । बजार प्राविधिक रुपमा सपोर्ट विन्दूमै रहेको कारण अब चाहिँ बजार अलिकति सम्हालिने मेरो आङ्कलन छ । लगातार बजार घटेको कारणसमेत आज चाहिँ बजारमा केही सुधार आउने अपेक्षा गर्न सकिन्छ । बजार दिगो हुन नीतिगत सुधारको पर्खाईमा छ ।
नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।