धरान । धरान–६ पानबारीमा वस्ती बसेको सय वर्ष पुगेको अवसरमा पानबारी शतवार्षिक महोत्सव आज फागुन २६ देखि चैत २ गते सम्म सञ्चालन हुँदैछ ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव धरान– ६ स्थित सरस्वती मार्गमा हुने महोत्सव संयोजक राजन दाहालले जानकारी दिए । महोत्सव सयपत्री ब्वाइज युनियन क्लब र धरान–६ वडा कार्यालयको संयोजनमा हुने भएको हो ।
पत्रकार सम्मेलनमा धरान–६ का वडाध्यक्ष भूपेन्द्र भट्टराईले पानबारी बसोबासको आधारले सय वर्ष पुगेको बताउँदै उनले शेहरा र सेउतीखोलामा बाढीका कारण धरान आवात–जावत कठिन भएको बेला जनसहभागितामा एक करोडको शेहरा खोलामा पुनः निर्माण भएको बताए ।
शतवार्षिकी महोत्सवको अवसरमा भलिबल प्रतियोगिता, रस्सी तान,रोटेपिङ,नाउ र ड्रागन खेलको मज्जा लिन सकिनुका साथै स्थानीय उत्पादन र सहुलियत बजार अनि दैनिक साँझ राष्ट्रिय कलाकारको प्रस्तुति,कविता तथा नृत्य प्रतियोगिता,झाँक्री प्रदर्शनी र सास्कृतिक र्यालीलगायतका आकर्षण कार्यक्रमहरु हुने बताइएको छ । महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । महोत्सवस्थलमा ५० वटा स्टल राखिएको छ ।
महोत्सवमा कोशी प्रदेश स्तरीय छैटौँ भलिबल प्रतियोगिता समेत हुने भएको छ। प्रतियोगितामा सयपत्री बोइज युनियन क्लब पानवारी, धरान उपमहानगरपालिका धरान,बेलबारी नगरपालिका बेलबारी मोरङ, सतिसाले स्पोर्टीङ मोरङ, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर मोरङ, प्रदेश भलिबल ट्रेनिङ सेन्टर दमक झापा, एमएमसी धरान, बाँझगरा भलिबल क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको फाइनल खेल भने आउँदो चैत २ गते हुनेछ । विजयी टिमलाई १ लाख रुपैयाँ र ३५ तोला चाँदीको रनिङ शिल्ड प्रदान गरिने छ । उपविजेताले नगद ५० हजार र प्रमाणपत्र पाउने भएका छन् ।