काठमाण्डौ । बिहीबार नेप्से परिसूचकमा १३ दशमलव ५१ अंकको वृद्धि देखियो । नेप्से परिसूचक ० दशमलव छ सात प्रतिशतले बढेर २ हजार ३० दशमलव पाँच पाँच विन्दू कायम हुँदा ३.२ अर्ब रुपैयाँ हाराहारी मात्रै शेयर कारोबार भएको थियो । शेयर बजारको उत्तारचढावमा लगानीकर्ताहरुको मनोविज्ञानले पनि मुख्य भूमिका खेल्दछ । यसै सेरोफेरोमा रही अर्थबिटमार्फत् लगानीकर्ताका केही प्रतिनिधि मनोविज्ञान समेट्ने कोशिस गरेका छौँ ।
सिर्जना सुवेदी
नेकपा माओवादी केन्द्रका तर्फबाट नियुक्त हुनुभएका अर्थमन्त्री वर्षमान पुनको पुनरागमनमा बजारले पर्ख र हेरको अवस्थामा ल्याएको छ । पछिल्ला दिनहरुमा अर्थमन्त्रीका अभिव्यक्तिहरु राम्रै आइरहेको छ यद्यपि बजार सुधारका लागि वहाँले चाल्नुहुने कदमहरुले नै बजारको दिशा तय गर्ला । बजार आज आइतबार सामान्य उकालो लाग्दै चलायनमा हुने मेरो अनुमान छ । साँच्चै भन्नुपर्दा अब बजारको दिशाको चाहिँ अर्थमन्त्रीको कार्य निर्देशनबाट नै निर्णय होला ।
पिताम्बर गौतम
सरकार परिवर्तनसँगै एमालेका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल आउने अपेक्षा राखेकामा लगानीकर्ताको चाहना पूरा भएन । यद्यपि नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बजारमा सकारात्मक सुधारको प्रतिवद्धता व्यक्त गरेका तथा मन्दीका गएको अर्थतन्त्र सुधार्नका लागि आफूसँग कार्ययोजना रहेको बताएसँगै लगानीकर्ताको झिनो विश्वास फर्केको देखिन्छ । आजको बजार सकारात्मक नै रहने अपेक्षा गर्न सकिन्छ ।
अनु श्रेष्ठ
नवनियुक्त अर्थमन्त्री वर्षमान पुनबाट पनि विगतमा शेयर बजारमा खासै नराम्रो नजर नपाइएको अनुभव छ । वहाँले शेयर बजारका विषयमा हिजोआज दिइरहनुभएको अभिव्यक्तिहरु शेयर बजारका लागि निकै सकारात्मक छन् । वहाँले शेयर बजारप्रति देखाउनुभएको भावले नेप्से परिसूचक पनि सकारात्मक नै होला भन्ने मेरो अनुमान छ । गत साता केही दिन बजार घट्दा शेयर एकुमुलेसन र अन्यौल हो कि भन्ने मेरो बुझाइ हो ।
नोट : यो विश्लेषण केबल अध्ययन प्रयोजनार्थ मात्रै हो । सीमित लगानीकर्ताहरुको मनोविज्ञान समेट्ने हाम्रो प्रयास शेयर बजारमा खरिदबिक्री गर्ने निर्णयका लागि भने नभएको स्पष्ट पार्न चाहन्छौँ । स्वविवेकमा शेयर लगानी गरौँ ।