इटहरी । नेपाल सरकार चलचित्र विकास बोर्डको आयोजना र चलचित्र महासंघ प्रदेश नं. १ को सहकार्यमा आयोजित मेरो कथा चलचित्र सिर्जनात्मक कार्यशाला गोष्ठी सोमबार इटहरीमा उद्घाटन भएको छ । उक्त कार्यशाला गोष्ठी ५ दिनसम्म रहनेछ ।
सोमबार उद्घाटन समारोहमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका राज्यमन्त्री सुनिता गुरुङ्गले कलाकार देशको गहना भएको हुँदा उनीहरुको संरक्षण, सम्मान गर्न र कलाको संरक्षण गर्न आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्न सदैव आफू तत्पर रहेता पनि कलाकारहरुलाई अगाडि बढाउनका लागि राज्यले बजेट छुट्याउन जरुरी भएको समेत दाबी गरिन् ।
चलचित्र महोत्सवको लागि ५० लाख बजेट विनियोजन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशका राज्य मन्त्री सुनिता गुरुङ्गले जानकारी दिएकी छिन् ।एउटा सन्देशमुलक राम्रो चलचित्रको निर्माण भए जनतामा सकरात्मक छाप रहने उनले बताइन। देशमा मात्रै होइन अन्तराष्ट्रिय स्तरमा चलाउन सक्ने खालका चलचित्र निर्माण गर्नुपर्ने भनाई समेत राखिन् । आफ्नो मौलिक परम्परा र विभिन्न जातजातीको भाषा, संस्कृतिमा आधारित रहेर पर्यटन प्रवद्र्धनको लागि निर्माण भएका चलचित्रलाई महोत्सवमा प्रदर्शन गरेमा प्रोत्साहन स्वरुप उचित पुरस्कारको व्यवस्था आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नै गरेको समेत दाबी गरिन् । चलचित्र छायांकन अब कोशी प्रदेशमा नै गराउनका लागि आफूले सक्दो सहयोग गर्ने र राज्य समक्ष पहल गर्ने समेत उनले बताइन् ।
काठमाण्डौंमा स्थापित भएका कलाकारहरु मध्ये ७० प्रतिशत कोशी प्रदेशका कलाकारहरु भएको चलचित्र महासंघ प्रदेश नं. १ का अध्यक्ष अरुण कुमार प्रधानले जिकिर गरे। काठमाण्डौं पछि अर्को छुट्टै क्षेत्र चलचित्र नगरीका रुपमा प्रदेश नं. १ लाई स्थापित गर्ने प्रधानले बताए । ५ दिने कार्यशाला गोष्ठीले सहभागीहरुलाई निपूर्ण बनाउने उनको भनाइ थियो । २० जनाको लागि दिइने भनेको सिर्जनात्मक कार्यशालामा जम्मा २५ जना प्रशिक्षार्थी सहभागिता रहेको थियो । उक्त कार्यशालामा सहभागी भएका १३ देखि १८ उमेर समूहका बालबालिकाहरु थिए ।
मेरो कथा चलचित्र सिर्जनात्मक कार्यशाला गोष्ठीको उद्घाटन समारोह चलचित्र विकास बोर्डका सदस्य कियल बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।