इटहरी । नृत्य, कला, संस्कृति र उपादेयता विषयक विमर्श कार्यक्रम इटहरीको संगीत साधना भवनमा सम्पन्न भएको छ ।
संगीत र साधनाको व्याख्या र विश्लेषण गर्ने क्षमता आफूसँग नभएको भूमिसुधार तथा व्यवस्थापन पूर्वमन्त्री रामकुमार सुब्बाले बताए । “संस्कार,संस्कृति र कलालाई प्रस्तुत गर्ने बेग्लै क्षमता कलाकारमा हुन्छ जुन् अरु कसैमा हुन सक्दैन भन्ने उनको भनाइ रहेको छ । ”,सुब्बाले भने,“कलाकार भनेको देशको गहना मात्र नभई देशको गरिमा समेत हुन्।” संगीत साधना प्रतिष्ठान नेपालले इटहरीमा जग्गा ओगट्ने काम मात्र नगरेर यस्ता कार्यक्रमबाट प्रयत्न गर्दै गरेको सावित भएको उनले दाबी गरे।
उक्त कार्यक्रममा शास्त्रीय एवं परम्परागत नृत्यका अनुसन्धानता स्वजन रघुवंशी र उनको समूह क्लासिक कल्चर सेन्टर काठमाण्डौंको विशेष नृत्य प्रस्तुति रहेको थियो ।
उहिले नृत्यलाई नाटकको रुपमा लिएता पनि अहिलेको नृत्य पनि नाट्यशास्त्र अन्तर्गत नै पर्ने रघुवंशीले बताए। जसलाई लेख्नका लागि ३०० वर्ष लागेको समेत उनको दाबीसमेत छ । नृत्य, वाद्यवादन मिलिसकेपछि मात्र एउटा सिङ्गो संगीत बन्ने उनको बुझाई छ । आमाको गर्भमा रहँदा देखिनै नृत्यको मुभमेन्टहरु गर्ने र जन्मेदेखि नै भावहरु व्यक्त गर्न थाल्ने भएको हुँदा नृत्य ललितकलाको एक सम्पूर्ण रुप रहेको उनले बताए । संस्कृति भनेको आफ्नो पहिचान भएको हुँदा नृत्य चाहिँ विशेष गरी संस्कृतिसँग नै जोडिएको हुने उल्लेख गर्दै उनले नृत्यले संस्कार र संस्कृतिलाई समेत जगेर्ना गर्ने कुरालाई विशेष जोड दिए ।
उक्त कार्यक्रम संगीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष राम खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।