घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

अर्थबिट २०८१-०६-०५ ११:५५:०० बजे

काठमाण्डौ । दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका  सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधि सहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

बैठकले बिपी राजमार्गका सडक सुरक्षाका लागि पूर्व निर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन  एवं रात्री सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रुपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।

यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्यस्थलसम्म जाने गरी व्यवस्थित गर्ने, वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने भाडा समायोजन छठपछि गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

यस्तै, यातायात सुझाव सुधार कार्यादलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयको सम्बोधन गर्ने, यातायात व्यवस्थापनसँग सम्बन्धित सम्मानित अदालतबाट भएका आदेश÷फैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, सहसचिव कृष्णराज पन्थ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सिटौला, महासचिव डेकनाथ गौतमलगायत सडक विभाग र यातायात व्यवस्था विभागका कर्मचारीको सहभागिता रहेको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।