आईपीओ निष्काशन अगावै नयाँ कम्पनीको प्रमोटर शेयर हारालुछ !

अर्थबिट २०८१-०८-०७ ०८:१७:०० बजे

काठमाण्डौ । प्राथमिक बजारमा समेत आईपीओ निष्काशन नभएका प्रमोटर(संस्थापक) शेयरमा दोस्रो बजारमा सक्रिय लगानीकर्ताहरुको आकर्षण बढ्न थालेको छ ।

अस्थिर नीतिका कारण अस्तव्यस्त रहेको दोस्रो बजारमा पछिल्लो समय सक्रिय लगानीकर्ताहरुको प्राथमिक बजारमा समेत आईपीओ निष्काशन नभएका प्रमोटर(संस्थापक) शेयरप्रति आकर्षण बढ्न थालेको हो । प्रति कित्ता रु.१०० मा नै खरिद गर्न मिल्ने भएकाले पनि संस्थापक शेयरमा लगानीकर्ताहरुको हारालुछ भइरहेको छ । 

विगत १६ वर्षदेखि शेयर बजारमा सक्रिय नवलपरासी घर भई हाल युकेमा बस्दै आएका दुर्गा प्रसाद काफ्ले उर्फ उत्तानो प्रसाद प्राथमिक बजारमा नै नआएका संस्थापक शेयर खरिद गर्दै आइरहेका छन् । संस्थापक राम्रो भएमा प्रमोटर शेयर हारालुछ हुने उनी बताउँछन् । प्रमोटर शेयर पाउनै मुश्किल भएको उनको दाबी छ । हालसम्म विभिन्न १५ कम्पनीको प्रमोटर शेयरमा लगानी गरिसकेको जिकिर गर्दै उत्पादनसँग जोडिने भएकाले समेत आफू त्यस्ता शेयरमा लगानी ओइराइरहेको उनले बताए । “दीर्घकालीन लगानीका लागि प्रमोटर शेयर एकदमै राम्रो हुन्छ । रिटर्न पनि करिब १० प्रतिशत पाइन्छ ।”,उनले अर्थबिटसँगको कुराकानीमा भने,“ अबको ८/१० वर्षमा त मेरो पनि बल्क कित्ता हुन्छ ।” 

लामो तथा ठूलो सोच र ठूलो जोखिम लिएरै प्रमोटर शेयर खरिद गरिरहेका काफ्ले ४/५ वर्षपछि दोस्रो बजारमा सहजै बिक्री गर्न पनि पाइने भएकोमा दङ्ग छन् । हालसम्म २ करोड रुपैयाँ बराबरको १५ कम्पनीका प्रमोटर शेयरमध्ये ५ वटाले सेबोनमा आईपीओ निष्काशनका लागि समेत निवेदन दिइसकेका उनले सुनाए । “एक्लै कम्पनी खोल्न नि गाह्रो हुन्छ तर प्रमोटर शेयर खरिद गर्दा ठूला संस्थापक शेयरधनीको हैसियत पनि माथि नै हुने गर्दछ । ”,उनले खुशी हुँदै अर्थबिटसँग भने । 

यसैबीच गोरखा घर भई हाल काठमाण्डौ बस्दै हल्का तथा साना सवारीसाधनको रिकण्डिशन शोरुमका सञ्चालक अमिर तिमिल्सिना पनि प्रमोटर शेयर भनेपछि मरिहत्ते गर्दछन् । विगत ९ वर्षदेखि शेयर बजारमा सक्रिय उनी गत वर्षदेखि भने प्रमोटर शेयरको लगानी खोजीखोजी गर्न थालेका छन् । “लगानी गर्ने नै प्रमोटर शेयरमा रहेछ । ४ वर्षपछि ५ गुणा भइहाल्छ ।”,उनले अर्थबिटसँग उत्साहित हुँदै भने । दोस्रो बजारबाट पैसा कमाउन गाह्रो भएको उनको तर्क छ । प्रमोटर शेयरको लगानी थाहा नपाइकन गरिएको बचत भएको उनको बुझाई छ । वार्षिक १२–१५ प्रतिशत लाभांश पनि नियमित आइरहने र दोस्रो बजारमा सूचीकृत भइसकेपछि रिटर्न र पूँजीगत लाभ जोड्दा १० गुणासम्म हुने जिकिर गर्दै उनले हालसम्म २ वटा कम्पनीको प्रमोटर शेयरमा लगानी रहेको बताए । शेयर बजार घटबढ हुँदासमेत सहज हुने भएकाले आफू प्रमोटर शेयर खरिदमा आकर्षित भएको उनको भनाइ छ । १ करोड रुपैयाँको प्रमोटर शेयर किनेर बसेमा जिन्दगीभर बसीबसी खान पुग्ने उनको बुझाइ छ ।

दोस्रो बजारमा समेत ब्रोकरमार्फत् विभिन्न कम्पनीका संस्थापक शेयर खरिदबिक्री गर्दा १ देखि २ महिना लामो म्यानुअल प्रक्रिया अपनाउनुपर्ने र कागजी प्रक्रिया झन्झटिलो हुने गर्दछ । पछिल्लो समय सरकारले नयाँ कम्पनीहरुलाई आईपीओ निष्काशन गरिदिएको सहज वातावरणले समेत रियल सेक्टरलगायतका प्रमोटर शेयर कम्पनी दर्ता हुनेबित्तिकै हालालुछ हुने गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।