काठमाडौ । एनआइसी एशिया क्यापिटलले धितोपत्रको दोश्रो बजारमा सूचीकृत भएका तथा नभएका कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्री गर्न सहज गराउन ‘अफर फर सेल’ सञ्चालनमा ल्याएको छ ।
एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत धितोपत्रको दोश्रो बजारमा सूचीकृत भएका तथा सूचीकृत नभएका कम्पनीहरुको संस्थापक शेयरधनीहरुको शेयर प्रचलित कानून बमोजिम खरिद बिक्री गराइदिने सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।
सोही सेवालाई थप परिष्कृत गर्ने क्रममा नेपालमा सूचीकृत कम्पनीहरुको संस्थापक समूहको शेयर खरिद बिक्री गर्न निक्कै नै कानूनी प्रक्रिया पूरा गर्नुपर्ने देखिन्छ । त्यसै गरी सूचीकृत नभएका पब्लिक कम्पनीहरुको संस्थापक समूहको शेयर समेत कारोवार गर्न निकै झन्झटिलो प्रक्रिया रहेको र लगानीकर्ताहरुले चाहेको समयमा खरिदकर्ता तथा बिक्रीकर्ता नपाउँदा संस्थापक शेयरमा गरिएको लगानी फ्रिज भएर बसेको गुनासो लगानीकर्ताहरुबाट बारम्बार सुनिने गरेको हुँदा संस्थापक शेयर खरिद बिक्रीको लागि वान स्टप सलुसन उपलब्ध गराउने मुख्य उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले अफर फर सेल(ओएफएस) प्लेटफर्म सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।
जस अन्तर्गत क्यापिटलले संस्थापक समूहको शेयर बिक्री तथा खरिद गर्न चाहने लगानीकर्ताहरुलाई अनलाईन मार्फत साझा प्लेटफर्मबाट आफूले खरिदबिक्री गर्न खोजेको कम्पनीको विवरण रितपुर्वक क्यापिटलको वेभसाईट मार्फत उपलब्ध गराउनु पर्ने छ । उक्त विवरणको आधारमा क्यापिटलले सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता वा बिक्रीकर्ता खोजि प्रचलित नियम कानुन अनुसार शेयर नामसारी सम्बन्धी आवश्यक प्रकृया अगाडि बढाउने छ ।
Offer for Sale (OFS) Platform को विशेषता देहाय बमोजिम रहेका छन् ।
सहज बिक्री प्रकृया:
संस्थापक समूहको शेयर बिक्री गर्न चाहने सम्बन्धित शेयरधनीहरुले क्यापिटलको वेभसाईटमा माग गरे बमोजिमको विवरण रितपुर्वक भरे पश्चात् उक्त विवरणको आधारमा सम्बन्धित कम्पनीको शेयर खरिदकर्ता खोजिदिने कार्य क्यापिटलले गर्ने छ ।
सहज खरिद प्रकृया :
कुनै पनि कम्पनीको संस्थापक समूहको शेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई सोको विवरण उपलब्ध गराए पश्चात् क्यापिटलले उक्त कम्पनीको शेयर खोजिदिने कार्य गर्ने छ ।
सुरक्षित र गोपनियता कायम रहने :
सम्बन्धित शेयर खरिदकर्ता तथा बिक्रीकर्ताको विवरण अति सुरक्षित तथा गोपनियता कायम हुने गरी प्राप्त विवरण सम्बन्धित अधिकारीले आवश्यक अध्ययन गरेर शेयर खरिद बिक्री सम्बन्धी आवश्यक प्रकृया अगाडी बढाउनेछ ।
सहज र सर्वसुलभ :
सम्बन्धित व्यक्ति तथा संस्थाहरुले आफुले खरिद बिक्री गर्न चाहेको सम्बन्धित कम्पनीको विवरण सहजै रुपमा स्वदेश तथा विदेशको जुन सुकै स्थानबाट पनि सहज र सर्वसुलभ रुपमा अनलाईन मार्फत विवरण उपलब्ध गराउन सक्नुहुने छ ।
खरिद बिक्री मूल्य निर्धारण गर्नको लागि भ्यालुएसन रिपोर्ट उपलब्ध गराइनेः
सम्बन्धित कम्पनीको भ्यालुएसन गरेर संस्थापक समूहको शेयरको खरिदबिक्री गर्नको लागि उचित प्रति शेयर खरिद बिक्री मूल्य निर्धारण गर्न सहयोग गर्ने ।
एनआईसी एशिया क्यापिटलले विगत लामो समयदेखि आफ्नो मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत विभिन्न कम्पनीहरुलाई संस्थागत परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।