काठमाण्डौ । एनआईएमबी स्टक मार्केट्स लि.( स्टक ब्रोकर नं. ७५ ) ले नयाँ ट्रेडिङ्ग मेनेजमेन्ट सिस्टम(टीएमएस) सञ्चालनमा ल्याएको छ ।
आज आइतबारदेखि एनआईएमबी स्टक मार्केट्स लि.( स्टक ब्रोकर नं. ७५ ) ले नयाँ ट्रेडिङ्ग मेनेजमेन्ट सञ्चालनमा ल्याएको हो ।
डीजी हव कम्पनीमार्फत् ब्रोकरहरुले नयाँ टीएमएस खरिद गरेका हुन् । करिब ३ दर्जन ब्रोकरेज फर्महरुले डीजी हवबाटै टीएमएस खरिद गर्ने सहमति भइसकेको छ । सोही सहमति अनुसार आज आइतबारदेखि एनआईएमबी स्टक मार्केट्स लि.( स्टक ब्रोकर नं. ७५ ) ले पनि आफ्ना ग्राहकका लागि सो नयाँ टीएमएसको सुविधा सुरुवात गरेको छ ।
‘हामी आज आइतबारदेखि नयाँ टीएमएस लाइभ गरेका छौँ । यद्यपि हाम्रा ग्राहकहरुले हाललाई भने वाइको र डीजी हव दुवै चलाउन सक्नुहुन्छ ।’ एनआईएमबी स्टक मार्केट्स लि.का चिफ अपरेटिङ्ग अफिसर(सीओओ) युवराज भुसालले अर्थबिटसँग भने,‘ ग्राहक( शेयर लगानीकर्ता) अब आफैं ब्रोकर हुनसक्नुहुन्छ । सबै सिस्टम ब्रोकरको अब ग्राहकले आफैं उपभोग गर्न पाउनुहुन्छ । ’ नयाँ टीएमएस मोबाइल एप(गुगल प्ले र एप्पल स्टोर) मा पनि उपलब्ध भएकाले एपबाटै पनि शेयर किनबेच गर्न मिल्ने उनले बताए । शेयर किनबेचको सम्पूर्ण जानकारी, अटोमेटिक कोल्याट्रल लगायतका थुप्रै सुविधा रहेको उनले बताए । आफ्ना करिब ८ हजार ग्राहकलाई नयाँ टीएमएसको सुविधा लिनका लागि समेत उनले आग्रह गरे ।
नयाँ टीएमएसमा शेयर बिक्री गर्ने बित्तिकै स्वतः लिमिट(कोल्याट्रल) आफैं बस्दछ । शेयर खरिदबिक्रीको स्टेटमेन्ट(लेजर) समेत ग्राहक आफैंले हेर्न मिल्दछ । यसअघि सामाजिक सञ्चाल,इमेल वा फोनमार्फत् ब्रोकरेज फर्ममा सम्पर्क गरेपछि मात्रै लगानीकर्ताहरुले जानकारी पाउने व्यवस्था थियो ।
नयाँ टीएमएसमा टेक्निकल चार्ट हेर्ने सुविधा पनि रहेको छ । जसमा लगानीकर्ताहरुले पोर्टफोलियो समेत हेर्न मिल्दछ । शेयर बिक्री गरेपछि कोल्याट्रल राखिदिन ब्रोकरेज फर्ममा सम्पर्क गर्नुपर्ने बाध्यताको अन्त्य गर्दै अब ग्राहक स्वयं ब्रोकरजस्तै सुविधा पाउनेछन् ।
एनआईएमबी स्टक मार्केट्स लि.( स्टक ब्रोकर नं. ७५ )को केन्द्रीय कार्यालय काठमाण्डौको कमलादीमा रहेको छ । यस ब्रोकरेज फर्म सेटलमेन्ट समयमै ( २ दिनमै ) ग्राहकले पाउनुपर्ने पैसा वा शेयर समयमै पाइरहेकाले धेरै लगानीकर्ताको रोजाइ बन्दै गइरहेको छ ।