पर्यटनलाई उर्जा सञ्चार गराउन धरानमा आगामी चैत ११ गतेदेखि इष्ट टुरिजम मार्ट आयोजना हुने

अर्थबिट २०७८-११-३० ०९:०८:०० बजे

काठमाण्डौ।आगामी चैत ११ गतेदेखि १३ गतेसम्म धरानमा इष्ट टुरिजम मार्ट आयोजना हुने भएको छ । 

यो पटकको मार्ट २०७८ चैत्र ११, १२ र १३ गते शुक्रबार, शनिवार र आइतबार तीन दिनसम्म धरानको पब्लिक हाइस्कूलको मैदानमा आयोजना हुने कार्यक्रम तय भएको छ ।

पर्यटनलाई उकास्न, प्रवर्धन गर्न र व्यवसायी एवं सरोकारवालालाई उर्जा सञ्चार गराउन आवश्यक ठानेर एक बृहत कार्यक्रमको आयोजना गर्न लागिएको हो। 

सन् २०१८ र २०१९ मा आयोजना भएर कोभिडका कारण रोकिएको इष्ट टुरिजम मार्ट यस पटक तीन वर्षपछि नयाँ जोश, उत्साह र जागरका साथ आयोजना हुन लागेको छ । 

विगतमा प्रेक्षालय हलमा हुने इष्ट टुरिजम मार्ट यस पटक खुल्ला मैदानमा आयोजना हुन लागेको बताइएको छ । आम नागरिकहरुमा पर्यटन प्रतिको चासो बढाउन र पर्यटनकर्मीहरुलाई पनि सम्भावित ग्राहकहरुसँगको सम्बन्ध विकास गर्न बीटूसी (बिजिनेस टु कस्टुमर) का लागि खुल्ला स्थानमा विभिन्न कार्यक्रम गरी मार्टलाई भव्य रुपमा आयोजना गरिनेछ ।  

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हुन लागेको मार्टलाई, प्रदेश सरकारको सहयोग र धरान नगरपालिकाले संयोजन गर्ने साथै प्रदेशभरिका नीजि क्षेत्रका व्यवसायीहरुद्वारा गठित इष्ट टुरिजम मार्ट आयोजक समितिले सम्पन्न गर्नेछ । यसमा प्रदेशभरिका पर्यटन सम्वद्ध संस्थाहरुको प्रतिनिधित्व रहने बताइएको छ । 

 यस पटकको मार्टलाई अझ भव्य बनाउन धरान जेसीजको समेत साथ रहेको आयोजकको भनाइ छ । धरान जेसीजले मार्ट अवधिभर सोही मैदानमा जातीय परिकार र होटल मेनेजमेण्ट अध्यापन हुने कलेजहरुको आधुनिक परिकार रहने फुड फेष्टिबल आयोजना गर्नेछ । कार्यक्रम अवधिभरि सांस्कृतिक कार्यक्रम समेत आयोजना हुनेछ । मार्टमा प्रदेशका व्यवसायी प्रदेशबाहिरका व्यवसायी गन्तव्यहरु लगायतका एक सय स्टल रहने छन् । मार्टमा यस पटक भारतीय पर्यटन व्यवसायी तथा प्रदेश बाहिरका नेपाली पर्यटन व्यवसायी गरेर करिब दुई सय पाहुना आउने तय भएको छ ।

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।