स्वदेश फर्किएका प्रवासी श्रमिकको सीप विकासका लागि सहयोग साझेदारी,युरो १९ लाख ९० हजार बराबरको अनुदान

RSS २०७८-१२-०९ ०४:५६:०० बजे

काठमाण्डौ।नेपालमा कोभिड महामारीबाट प्रभावित भई स्वदेश फर्किएका प्रवासी श्रमिकको सीप विकासका लागि विभिन्न अन्तर्राष्ट्रिय निकायले कार्यक्रम सञ्चालनका लागि सहयोग प्रदान गर्ने भएका छन् ।

सहयोग तथा परियोजना सञ्चालनसम्बन्धी जानकारी दिन राजधानीमा आज आयोजित एक कार्यक्रममा शिक्षा मन्त्रालय प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टिभिइटी) महाशाखाका सहसचिव कमल पोखरेलले कोभिड महामारीका कारण थुप्रै नेपाली कामदार घर फर्किरहेको समयमा सञ्चालन हुने परियोजना अत्यन्त समय सान्दर्भिक भएको र यसले घर फर्किएका नेपालीको सीप विकास मात्र नभई, सीप स्तरोन्नति र पुनः सीपमा पनि सघाउ पु¥याउने अपेक्षा राख्नुभयो । 

कार्यक्रममा जानकारी गराइएअनुसार, युरोपेली सङ्घ (इयु) को आर्थिक सहयोग तथा ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालित दक्षता टिभिइटी व्यावहारिक साझेदारी परियोजनाले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओे) र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम्) लाई युरो १९ लाख ९० हजार बराबरको अनुदान प्रदान गर्ने भएको छ । यो अनुदान कार्यक्रमअन्तर्गतका क्रियाकलापहरु सम्बन्धित क्षेत्रका रोजगारदाता एवं तिनका सङ्गठनमार्फत कृषि, निर्माण तथा पर्यटन गरी तीन क्षेत्रका प्रशिक्षक तथा प्रशिक्षार्थीहरुप्रति लक्षित हुनेछन् । 

दिगो पुनःएकीकरण एवं सुरक्षित श्रम आप्रवासनका लागि सीप तथा पुनःसीप विकासका माग पहिचानमार्फत सरोकारवालाको क्षमता विकास गरी महामारीबाट प्रभावित भई स्वदेश फर्किएका प्रवासी श्रमिक एवं तिनका परिवारलाई सहयोग प्रदान गर्ने परियोजनाको उद्देश्य रहेको छ । 

कार्यक्रममा इयूका सहकार्य प्रमुख डा मार्को गेमरले उचित शिक्षाविना दिगो विकास असम्भव हुने बताउँदै नेपालमा विभिन्न क्षेत्रमा राम्रा काम भए पनि थप प्रगतिका लागि अझ धेरै काम गर्नुपर्नेमा जोड दिनुभयो । “यसका लागि इयूले प्राविधिक तथा व्यावसायिक तालिमसँगै व्यावहारिक साझेदारीको अवधारणा कार्यान्वयनका लागि सहयोग गरेको हो,” उहाँले भन्नुभयो । 

कार्यक्रममा दक्षता परियोजना प्रमुख एरिक विन्थर–स्किम्टले विश्वव्यापी महामारीका कारण आफूसँगै विभिन्न सीप बोकेर फर्किने प्रवासी श्रमिकको पुनःएकीकरणको मुख्य चुनौतीको सामनाका लागि स्वदेश फर्किएका श्रमिक अनुदान कोष परिचालन गरिएको जानकारी दिनुभयो । 

त्यसैगरी, युएनडिपीका आवासीय प्रतिनिधि मेदागाङगोडा लाबीले कम्तीमा एक हजार पाँच सय मानिसलाई प्रभावकारी रुपमा पुनः एकीकृत गर्न स्वदेश फर्किएका प्रवासी श्रमिकको रोजगारीका लागि सीप उत्थान कार्यक्रम बनाइएको जानकारी दिँदै यस कार्यक्रमबाट करिब आठ हजार मानिसले प्रत्यक्ष लाभ लिने अपेक्षा गर्नुभयो । 

आइएलओका अनुसार, यस बृहत् सहकार्यभित्र स्वदेश फर्किएका नेपाली प्रवासी श्रमिकको आधारभूत रोजगारीका सेवामा पहुँचमा सुधार ल्याउँदै, सीप स्तरोन्नति, पुनः सीप विकास तथा सीप प्रमाणीकरणका अवसर दिँदै, सार्वजनिक तथा निजी क्षेत्रबीचको संवादलाई थप बलियो बनाउँदै स्वदेश फर्किएका नेपाली प्रवासी श्रमिकको आर्थिक पुनःएकीकरणमा सहयोग पुग्नेछ । दश महिने सो परियोजनाको कार्यक्षेत्र लुम्बिनी, मधेस प्रदेश र प्रदेश १ का मोरङ, झापा र सुनसरी जिल्ला पर्दछन् । 

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का सदस्यसचिव जीवनारायण काफ्लेले परियोजना कार्यान्वयनका लागि सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।