प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

RSS २०७८-१२-१४ ०८:३६:०० बजे

काठमाण्डौ।प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । मौसम बदलीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्रै सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडानका वायुसेवा कम्पनीले उडान डिले भएको सूचना यात्रुलाई गराएका छन् । बढीमा चार घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानैदेखि उडान प्रभावित भएको छ । प्रतिकूल मौसमका कारण बुद्ध एयरले तुम्लिङटार गन्तव्यमा दुई उडान रद्द गर्नुपरेको र बाँकी सबै गन्तव्यमा साँझ अबेरसम्म उडान भइरहेको कम्पनीले जनाएको छ ।

“कम भिजिबिलिटीले विमानस्थल आइएफआर अप्रेसन सञ्चालनमा जानेबित्तिकै उडान प्रभावित हुन्छ । डिले उडान राति अबेरसम्म सम्पन्न हुनेछन्”, बुद्ध एयरका सूचना अधिकारी कर्णले भन्नुभयो । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । काठमाडौँ उपत्यकाको आकास आज दिनभरजसो बदली रह्यो ।

अझै केही दिन उडान प्रभावित हुनसक्ने आँकलन गरी हवाई सेवा प्रदायक कम्पनीले यात्रुलाई समयमै सूचना पु¥याउने प्रयास गरिएको जनाएका छन् । एसएमएस, मोबाइल एप, सामाजिक सञ्जालमार्फत यात्रुलाई समयमै सूचित गरिँदै आएको सूचना अधिकारी कर्णले जानकारी दिनुभयो । यात्रुले टिकट काट्दा सही सम्पर्क नम्बर राखेमा सम्बन्धित यात्रुलाई मोबाइलमै सूचना जाने कम्पनीले जनाएको छ । यती एयरलाइन्स, श्रीएयरलाइन्सलगायत कम्पनीको उडान पनि सामान्य प्रभावित भएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।