काठमाण्डौ।बलेफी हाइड्रोपावर लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ ।
कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।
प्रतिकित्ता १०० अंकित मूल्यका दरले १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर बिक्री खुला भएको हो । यसमध्ये ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता सामूहिक लगानी कोष र ४५ अर्थात् ७३ हजार ११९ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आइपीओमा आगामी चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत ३० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
रेटिङ एजेन्सी इक्रा नेपालले बलेफीको आइपीओलाई (इस्यूअर रेटिङ डबल बी) प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । इक्राले २०७८ पुस १ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद २०७९ मंसिर २७ गतेसम्म बहाल रहनेछ ।
बलेफी हाइड्रोपावरको आइपीओ पाउन पनि लगानीकर्ताले भाग्यकै भर पर्नुपर्ने देखिएको छ । पछिल्लो समय प्रत्येक आइपीओमा २७ लाख भन्दा बढी लगानीकर्ताले आवेदन दिन थालेका छन् । बलेफी हाइड्रोपावरको आइपीओमा पनि माग भन्दा निकै बढी गुणा आवेदन पर्नेमा कुनै शंका छैन । बलेफी हाइड्रोपावरको आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ६६ हजार ३ सय जनाले मात्र सेयर हात पार्नेछन् । यस आधारमा हेर्ने हो भने यो आइपीओमा पनि १० कित्ताका लागि आवेदन दिँदा उपयुक्त हुने देखिन्छ । यद्यपि कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
बलेफी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७३ पुस २२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको थियो । यसको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं १२, टेकु काठमाडौंमा रहेको छ ।
कम्पनीको जलविद्युत उत्पादन केन्द्र सिन्धुपाल्चोक जिल्लास्थित जुगल गाउँपालिका वडा नं २, ३ र ४ रहेको छ । कम्पनीले बलेफी खोलाको पानी प्रयोग गरी ३६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले विद्युत उत्पादन गर्ने अनुमति २०७३ साउन १२ गते प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र वि.सं २१०८ भदौ ११ गतेसम्म बाहल रहने कम्पनीले जनाएको छ । यस आयोजनाको कुल अनुमानित लागत ७ अर्ब ६५ करोड ५९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
बलेफी हाइड्रोपावरको अधिकृत पूँजी २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ रहेको छ । यसमध्ये संस्थापक सेयरधनीबाट १ अर्ब ४६ करोड २३ लाख ७६ हजार रुपैयाँ चुक्ता भइसकेको छ । आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको १८ लाख २७ हजार ९७० कित्ता र हाल सर्वसाधारणका लागि जारी हुन लागेको सबै सेयर पुँजीकृत भएपछि चुक्ता पुँजी जारी पुँजीको बराबर अर्थात १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ पुग्नेछ ।