रिभर फल्सको आइपिओ खुला

RSS २०७८-१२-२७ १२:४३:०० बजे

काठमाण्डौ।रिभर फल्स पावर लिमिटेडले प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि आयोजना प्रभावित क्षेत्र सङ्खुवासभाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको हो ।  

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यको रु सात करोड बराबरको सात लाख कित्ता शेयर स्थानीयका लागि निष्काशन तथा बिक्री खुला गरेको जनाएको छ । साधारण शेयरमा आवेदकले १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 

निष्काशन गरिएको शेयर खरिदका लागि आगामी वैशाख ११ गतेसम्म आवेदन दिन सकिने र सो समयावधिसम्म मागबमोजिम आवेदन नआए वैशाख १६ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार र सभापोखरी शाखा, प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमी बैंकको खाँदबारी र चैनपुर शाखा, निष्काशन कम्पनीको आयोजना कार्यालय सङ्खुवासभा र प्रभु क्यापिटलको कार्यालय कमलादीबाट आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले प्रवद्र्धन गरिरहेको १०.३० मेगावाट क्षमताको पिलुवा खोला जलविद्युत् आयोजनाको अनुमानितप्रति मेगावाट लागत रु १८ करोड ६ लाख १५ हजार रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बिबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।