‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज, विदेशी पर्यटकका लागि सहज हुने अपेक्षा

RSS २०७९-०१-०६ ०१:१३:०० बजे

काठमाण्डौ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो ।

उक्त सूचनाको चौतर्फी बिरोध भएपछि हाललाई नगदै बोकेर आउनुपर्ने प्रावधान खारेज भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेशिन सोमबार जडानको काम सुरु भइसकेको र अब पर्यटकहरुले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । विमानस्थलले अनअराइभल भिसाका लागि नगद बोक्नुपर्ने प्रावधान हटाइएपछि नेपाल आउने विदेशी पर्यटकका लागि सहज हुने अपेक्षा लिइएको छ । 

विमानस्थलको अध्यागमन कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटकको सहजताका लागि भन्दै राष्ट्रिय वाणिज्य बैंकका दुईवटा एटिएम मेशिन र दुईवटा पिओएस मेशिन थप गर्न लागिएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेशिन मात्रै भएको र उक्त मेशिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो । अनअराइभल भिसाका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि यात्रु प्रस्थान कक्षमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेशिन राखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।