इञ्जिनियरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका स्थगन,उपसमिति गठन

अर्थबिट २०७९-०१-१२ ०३:२४:०० बजे

काठमाण्डौ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिबाट जारी इञ्जिनियरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका, २०७८ हाललाई स्थगन गर्ने जानकारी दिएका छन् । 

बीमा समितिको आयोजनामा आज काठमाण्डौमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल लगायत विभिन्न सरोकारवालाहरूसँग भएको इञ्जिनियरिङ्ग बीमा दरसम्बन्धी छलफल कार्यक्रममा अध्यक्ष सिलवालले त्यस्तो जानकारी दिएका हुन्। 

अध्यक्ष सिलवालको सभापतित्वमा भएको उक्त छलफल कार्यक्रममा बीमा समितिबाट मिति २०७८ साल असोज ६ गते जारी भएको इञ्जिनियरिङ्ग बीमा सम्बन्धी'Minimum rate for non-tariff insurance business' निर्देशिका हाललाई स्थगन गरी यस सम्बन्धमा सुझाव सहितको प्रतिवेदन बुझाउन बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा एक उपसमिति गठन गर्ने निर्णय भएको छ ।

कार्यकारी निर्देशक पौडेल संयोजक रहनुभएको उपसमितिमा निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान), नेपाल बीमक सङ्घ र पुनर्बीमा कम्पनीका दुई दुईजना प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल हेभिइक्युपमेन्ट व्यवसायी महासङ्घ, शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सर्भेयर एसोसिएसन र पुनर्बीमा कम्पनीका एक एकजना प्रतिनिधि सदस्य तथा बीमा समितिका प्रतिनिधि सदस्य–सचिव रहेका छन् । उपसमितिले सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समयावधि तोकिएको छ ।

यसैगरी, कार्यक्रममा इञ्जिनीयरिङ्ग बीमा दरसम्बन्धी निर्देशिका विरूद्ध आन्दोलनरत निर्माण व्यवसायी महासङ्घ, इप्पान लगायतले गर्दै आएका धर्ना लगायतका विरोधका सम्पूर्ण कार्यक्रमहरू स्थगन गर्ने निर्णय भएको छ ।

कार्यक्रममा अध्यक्ष सूर्यप्रसाद सिलवालले राष्ट्रिय सम्पत्तिको अन्तर्राष्ट्रिय क्षेत्रका उत्कृष्ट कम्पनीमा पुनर्बीमा हुन सकोस्, राष्ट्रिय सम्पत्तीको सुरक्षा होस, कुनै कारणले केही भएमा तुरून्तै बीमा दाबी रकम भुक्तानी पाइयोस् र इञ्जिनीयरिङ्ग बीमा गर्दा कार्टेलिङ हुन नपाओस् भन्ने नै समितिको चासोको विषय भएको उल्लेख गरे ।

अध्यक्ष सिलवालले इञ्जिनियरिङ्ग बीमा दर निर्देशिकाका सम्बन्धमा सरोकारवाला सबैको राय, सुझावका आधारमा अगाडि बढ्न समिति तयार रहेको बताए । 

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले इञ्जिनियरिङ्ग बीमा दरका सम्बन्धमा सरोकारवालाहरूसँगको छलफलबाट निष्कर्ष निकालेर सहमतिका साथ अगाडि बढ्न समिति प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रका प्रतिनिधि, निर्माण व्यवसायी महासङ्घ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान), नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल हेभि इक्युपमेन्ट महासङ्घ र नेपाल बीमक सङ्घका पदाधिकारी, बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवम् पदाधिकारीहरू र बीमा समितिका निर्देशकहरू कमल प्रसाद रेग्मी, सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) तथा दिनेश कुमार लालको सहभागिता रहेको थियो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।