आगामी बैशाख २५ गतेदेखि हिमालयन हाइड्रोपावरको आइपीओ बिक्री खुला

अर्थबिट २०७९-०१-१६ ११:३०:०० बजे

काठमाण्डौ।हिमालयन हाइड्रोपावरले आगामी बैशाख २५ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले स्थानीयलाई जारी पूँजीको ८.२२५ अर्थात ९ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं १ अर्थात् साविकको पाचें गाविसको सबै वडाहरु, मादी गाउँपालिकाको वडा नं २ अर्थात् साविकको नामार्जुन गाविसका सम्पूर्ण वडाका स्थानिय बासिन्दालाई आइपीओ जारी गर्न लागेको हो ।

त्यस्तै, मादी गाउँपालिका वडा नं ३ र ४ अर्थात् साविकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडाहरु र मादी गाउँपालिकाका वडा नै ६ र ७ साविकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडाका स्थानीय बासिन्दाहरुको लागि आइपीओ जारी गर्न लागेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितहरुलाई निष्कासन गरिएको सबै सेयर बिक्री नभएमा बाँकी रहेको सेयर सर्वसाधारणलाई थप गरी बिक्री खुला गरिने कम्पनीले जानकारी गराएको छ । छिटोमा जेठ ८ गतेसम्म र ढीलोमा जेठ २३ गतेसम्म आइपीओ खुला रहनेछ । कम्पनीले जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट ९ करोड रुपैयाँको सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । 

यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । इक्रा नेपालले हिमालयन हाइड्रोपावरको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । 

स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको लेखनाथ र न्यूरोड शाखा कास्की, माछापुच्छ्रे बैंकको मादी शाखा कास्कीबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बढीबजार शाखा कस्की र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौंडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कास्कीबाट आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।