“बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो”

अर्थबिट २०७९-०१-१७ १०:१२:०० बजे

काठमाण्डौ।बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले मुलुकको समग्र अर्थतन्त्र र बीमकको हितमा पूँजी वृद्धिको निर्णय भएकाले एक वर्षभित्र बीमा कम्पनीहरुले चुक्ता पूँजी बढाउनै पर्ने बताएका छन् । 

बीमा समितिको आयोजनामा विहिबार (हिजो) काठमाडौंमा आयोजित बीमकको पूँजी वृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले भने, “बीमा समितिले बीमा बजारको अध्ययन एवम् विश्लेषण गरेर पूँजी बृद्धिको निर्णय गरेको हो । बीमा कम्पनीको व्यवसाय बढोस् र अर्थतन्त्रमा पनि योगदान पुगोस् भन्ने समितिको चाहना हो । बीमा कम्पनीले एक वर्षभित्र चुक्ता पूँजी बढाउनै पर्छ । त्यसमा सहजीकरण गर्न बीमा समिति तयार छ ।”

पूँजी बढाउन सक्ने बीमा कम्पनीले बढाउनुपर्ने र  नसक्नेले विकल्पहरु खोज्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “मर्जरको कुरा बीमा कम्पनीहरुबाटै आएको हो, बीमा समितिले मर्जरमा जान दबाब दिएको छैन, समितिले त मर्जरमा जान बाटो खोलिदिएको मात्र हो । समितिले जारी गरेको जोखिममा आधारित पूँजीसम्बन्धी निर्देशिका आगामी २०८१ सालदेखि पूर्णरुपमा लागू हुन्छ र त्यसका लागि पनि थप पूँजी आवश्यक पर्नसक्छ ।”

अध्यक्ष सिलवालले भने, “बीमा कम्पनी पूर्ण क्षमतामा चल्नुप¥यो । दाबी भुक्तानी हुनुप¥यो । कम्पनीको मुनाफा बढ्नुप¥यो । देशका ग्रामीण भेगका जनतासम्म बीमाको पहुँच पुग्नु प¥यो । स्थानीय तहमा बीमाका लागि पर्याप्त स्रोत र संभावना पनि छ, त्यहाँ कम्पनीहरु जानुप¥यो । शाखा कार्यालयहरू स्रोत साधनले सम्पन्न हुनुप¥यो ।”

कार्यक्रममा बीमा समितिका चार्टर्ड एकाउन्टेन्ट गोपाल पँगेनीले बीमकको पूँजी बृद्धि सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । 

बीमा समितिका निर्देशक दिनेश कुमार लालले सञ्चालन गरेको कार्यक्रममा बीमा समितिका निर्देशकहरु कमलप्रसाद रेग्मी र पूजन ढुङ्गेल (अधिकारी) र सबै निर्जीवन बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष, मुख्य संस्थापक शेयरधनी तथा प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।