सुमेरु सेक्युरिटीजद्वारा सेयर बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न(भिडिओसहित)

अर्थबिट २०७९-०१-१७ ०५:२९:०० बजे

काठमाण्डौ।शुक्रबार बिर्तामोडमा सेयर बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजद्वारा बिर्तामोडमा हिजो शुक्रबार आयोजित सेयर बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको हो । 

स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरताका लागि सेयर बजारसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको सञ्चालक प्रेम अग्रवालले बताए । 

उक्त कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का कामु प्रबन्धक निरन्जन फुयाँलले दोस्रो बजारको विविध पक्ष र लगानीकर्ताहरुले ध्यान दिनुपर्ने विषयमा आफ्नो धारणा राखे । जोखिमसहितको दोस्रो बजारमा नाफाघाटा स्वयं लगानीकर्ताहरुले बेहोर्नुपर्ने र सचेत भई लगानी गर्न उनले सुझाए । 

सोही कार्यक्रममा गरिमा क्यापिटलका सीइओ निर्मल भट्टराईले सेयर बजारमा बृहत आर्थिक तत्वहरुका विषयमा धारणा राखे । सेयर बजारमा ब्याजदर,भुक्तानी सन्तुलनको अवस्था,मुद्रास्फिति र रेमिट्यान्सले पार्ने असरहरुका विषयमा उनले चर्चा गरे । 

यसैगरी लामो समयदेखि सेयर बजारमा सम्बद्ध चर्चित प्राविधिक विश्लेषक अतित लाल श्रेष्ठले धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताको मनोविज्ञान र प्राविधिक विश्लेषणका विविध पक्षका विषयमा जानकारी दिए । सेयर बजारमा लगानीकर्ताहरु रुमलिने र घाटा खान थालेपछि भने गहन अध्ययन गर्नुपर्ने उनको सुझाव छ । बजारले मुटुमाथि ढुंगा राखेर पनि घाटा खाएर सेयर बेच्नपर्ने अवस्था आउने उनको दाबी छ । 

सो अन्तरक्रिया कार्यक्रममा लगानीकर्ताहरुले सेयर बजारका विषयमा जिज्ञासाहरुसमेत राखेका थिए र कार्यक्रममा उपस्थित वक्ताहरुले जवाफ दिएका थिए । 

उक्त कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का कामु प्रबन्धक निरन्जन फुयाँल,गरिमा क्यापिटका सीइओ निर्मल भट्टराई र चर्चित प्राविधिक विश्लेषक अतितलाल श्रेष्ठलगायतको सहभागिता थियो ।  

शुक्रबार बिर्तामोडस्थित सिटी सेन्टर(पार्टी प्यालेस)मा सम्पन्न उक्त कार्यक्रममा  २०० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।