विदेशी पर्यटक आगमनदर निरन्तर उकालो ,यो वर्ष १६० प्रतिशतले वृद्धि

RSS २०७९-०१-१९ ०२:४१:०० बजे

काठमाण्डौ।कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चालयमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन् ।

यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक आगमनको आँकडा हो । सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो । अप्रिल महिनामा ५२ हजार ६६३ बाहिरिएका छन् । सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१९ को तुलनामा पर्यटक आगमनदर आधाभन्दा बढीको अवस्थामा आइपुगेको बोर्डको विश्लेषण छ । गत वर्षकोभन्दा पर्यटक वृद्धिदर यो वर्ष १६० प्रतिशतले वृद्धि भएको बोर्डका निर्देशक मणि लामिछानेले बताउनुभयो । उक्त वर्षको अप्रिल महिनामा एक लाख ९ हजार २९९ पर्यटक आएका थिए । “यो वर्ष पर्यटक आगमनदर निरन्तर बढिरहेको छ । पर्यटक वृद्धिदर हेर्नेहो भने अप्रिल महिनासम्म ५३ प्रतिशतमा आइसकियो । अघिल्लो महिना ४५ प्रतिशत वृद्धिदर थियो ”, लामिछानेले भन्नुभयो ।

अघिल्लो मार्च महिनामा कूल ४२ हजार ६ जना पर्यटक नेपाल भित्रिएका थिए । जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । बोर्डको अन्तर्राष्ट्रिय स्रोत बजारमा रणनीतिक बजारीकरण तथा व्यवसायीको कडा मेहनत र लगनशीलताका कारण पर्यटक आवागमन निरन्तर बढिरहेको निर्देशक लामिछानेले बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।