पोखरा।पोखरामा सञ्चालन हुने सार्वजनिक बसका सह–चालकहरुले विभिन्न बाहना बनाउँदै विद्यार्थीहरुलाई छुट दिनबाट उम्कन खोज्ने गरेको पाईएको छ ।
नेपाल सरकारको मध्यस्ततामा विद्यार्थी संगठन र बस व्यवसायी बीच विद्यार्थीलाई सार्वजनिक यातायातमा सहुलियत दिइने सम्झौता सर्वविदित नै छ । उक्त सम्झौता अनुसार आधिकारिक तथा म्याद ननाघेको परिचय पत्रको आधारमा ४५ प्रतिशत छुट दिईने प्रावधान रहेको छ ।
विद्यार्थीले सार्वजनिक यातायातमा यात्रा गर्ने क्रममा परिचयपत्र देखाउँदा समेत सहचालक भने उम्किन खोज्छन् । सहचालकले साँझ परेपछि, शनिबारको दिन, पोखरादेखि गाउँतर्फ जाने बसमा विद्याथी परिचयपत्रका आधारमा छुट नदिईकन बहाना बनाउने गरेको यात्रीहरुले बताएका छन् ।
शिरिषा ढकाल सार्वजनिक यातायातमा नियमित रुपमा यात्रा गर्ने एक विद्यार्थी हुन् । उनले परिचयपत्रका आधारमा विद्यार्थी छुट माग्दा निकै समस्या खेप्दै आएको दाबी गर्छिन् । “साँझ परेपछि डिस्काउन्ट दिदैनन्, शनिवार डिस्काउन्ट दिदैनन्, डिस्काउन्ट गरेपनि सहचालकहरुको मर्जी अनुसारको डिस्काउन्ट हुन्छ ।”; उनले अर्थबिटसँग भनिन् ।
एकपटक ५० रुपैंया भाडा हो भन्दै सार्वजनिक बसका सहचालकले १० रुपैंया मात्र छुट गरिदिएको तीतो अनुभव सुनाउदै ढकालले भनिन्; “हामीले आफ्नो हक अनुसारको छुट माग्दा उल्टै नराम्रो व्यवहार गर्छन् ।” । परिचय पत्र देखाएर छुट माग्दा पनि किचकिच गर्ने, व्यङ्ग्य गर्ने, सुनेको नसुने गर्ने जस्ता व्यवहारहरु गर्ने गरेको उनले गुनासो पोखिन् ।
अर्थबिटसँग कुरा गर्दै श्रीकृष्ण पौडेलले भने; “मेरो गाऊँ जाने लेखनाथ यातायातका कुनैपनि गाडीले विद्यार्थीलाई छुट दिदैनन् ।” परिचयपत्र देखाई सहुलियत माग्दा सहचालकले ठाडै अस्वीकार गर्ने गरेको उनी बताउँछन् ।
पृथ्विनारायण क्याम्पसमा अध्यायनरत समिता भण्डारीका अनुसार सहचालकसँग भाडाको विषयमा कसैले वहस ग¥यो भने बसबाट निस्किनु भन्दै दूव्र्यबहार खेप्नुपर्ने छ ।पोखरामा चल्ने अधिकांश बसका सहचालकले त्यस्तो व्यवहार गर्ने गरेको यात्रीहरु जिकिर गर्छन् ।
बस व्यवसायी समितीहरु भने विद्यार्थीलाई सहुलियत दिएको दाबी गर्छन् । सहचालकले सामान्य गलत व्यवहार गरेको हुनसक्ने उनीहरुको बुझाई रहेको छ ।
बेगनासताल बस सञ्चालक समितिका प्रमुख भवानी प्रसाद अधिकारीले भने, “हामीले त विद्यार्थीलाई सहुलियत दिईराखेका छौँ । सहुलियत नदिने भनेर भनेका पनि छैनौँ । तर, सहचालकको खराब नियतका कारणले यस्तो भएको हुनसक्छ ।” कसैलाई त्यस्तो समस्या परेमा समितीमा उजुरी गर्न सकिने उनले बताए । पोखरा यातायात प्रालिका कम्पनी सचिव जीवन पौडेलले पनि विद्यार्थी सहुलियत दिन निर्देशन दिइएको जिकिर गरे । झण्डै ४०० ओटा बस सञ्चालनमा आउँदा एकाधले नदिएको हुनसक्ने उनको भनाइ छ ।“ त्यस्तो हुन आएमा गाडी नम्बर टिपेर हामीलाई दिनुहोस् । हामी कारवाही गछौँ। ”; पौडेलले भने ।