पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा ल्याइने

RSS २०७९-०२-११ १०:०२:०० बजे

काठमाण्डौ। सरकारले पोखरामा निर्माणाधीन राष्ट्रिय गौरवको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संसद्मा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा ल्याइने बताउनुभयो ।

चिनियाँ निर्माण कम्पनी सिएएमसिईले निर्माण गरिरहेको सो विमानस्थल यसअघि गत चैत १२ गते चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यतिबेला विमानस्थलको मुख्य निर्माण र उपकरण जडानको कार्य सम्पन्न भएको र ९३ प्रतिशत भौतिक प्रगति भएपछि नेपाललाई हस्तान्तरण गरिएको थियो । 

पोखरा विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले हालसम्म आयोजनाको ९५ प्रतिशत काम सकिएको बताउनुभयो । उहाँका अनुसार अब विमानस्थलका छिटपुट र सामान्य केही काम मात्र बाँकी छन् ।

विमानस्थल सञ्चालनका लागि अझै पनि विमानस्थल नजिकको ल्यान्डफिल साइट स्थानान्तरण, दक्षिणतर्फको रिठेपानी डाँडा कटान र बर्खायाममा भलबाढी नियन्त्रणका लागि सिँचाइ नहर व्यवस्थापनको काम मुख्य समस्याका रूपमा रहेको उहाँले जानकारी दिनुभयो ।

अधिकृत फुयाँलले विमानस्थल सञ्चालनका लागि पूर्वतयारीका काम गर्न सञ्चालन तथा तयारी कार्यदल गठन गरेर सो कार्यदलले काम अघि बढाएको जानकारी दिनुभयो । 

सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको विमानस्थलको काम कोरोना महामारीका कारण रोकिँदा आयोजनाको म्याद एक वर्ष थप गरिएको थियो । आगामी जुलाई १० भित्रमा सबै काम सम्पन्न गरिने आयोजनाले जनाएको छ । 

चिनियाँ कम्पनी सिएएमसी इञ्जिनियरिङले विसं २०७४ असारदेखि विमानस्थल निर्माणको काम सुरु गरेको हो । चीनको एक्जिम बैंकको रु २२ अर्ब सहुलियतपूर्ण ऋण सहयोगमा विमानस्थल निर्माणका लागि सन् २०१४ मा नेपाल नागरिक उड्डयन प्राधिकरण र सिएएमसीबीच ठेक्का सम्झौता भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।