जापानले सामूहिक पर्यटनका लागि अनुमति दिने घोषणा,दुई वर्ष लामो महामारी बन्द को अन्त्य

RSS २०७९-०२-१३ ०९:१४:०० बजे

काठमाण्डौ।जापानले जून १० देखि ३६ देशका पर्यटकका लागि पुनः अनुमति दिन लागिएको बिहीबार जानकारी गराएको छ ।

दुई वर्ष लामो महामारी बन्द को अन्त्य गर्दै भ्रमण समूहमार्फत् आउने ३६ देशका यात्रुहरूलाई मात्र अनुमति दिइने जापान सरकारले निर्णय गरेको हो ।

यो निर्णय सरकारले गत हप्ता संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, थाइल्याण्ड र सिंगापुरबाट आएका आगन्तुकहरूसँग सानो समूह भ्रमणको अनुमति दिने परीक्षण गरेपछि आएको हो ।

सरकारले कोभिड सङ्क्रमणको स्थिति तुलनात्मक रूपमा स्थिर रहेको निष्कर्ष निकाल्दै ३६ देश र क्षेत्रहरूबाट प्याकेजमा भ्रमण पुनः स्वीकार गर्न सीमा नियन्त्रण नियमलाई संशोधन गरेको कुरा एक विज्ञप्तिमार्फत् जानकारी गराएको हो ।

यी मुलुकमा बेलायत, स्पेन, क्यानडा, साउदी अरेबिया र मलेसियालगायत रहेका छन् ।

यसका लागि जापानले अन्तर्राष्ट्रिय उडानलाई पर्यटक प्रवेश गर्ने विमानस्थलहरूको सङ्ख्या पनि विस्तार गर्नेछ । दक्षिणी ओकिनावा प्रिफेक्चरको नाहा र उत्तरी होक्काइदोको साप्पोरो नजिकै रहेको चितोज विमानस्थलहरूमा थप अन्तर्राष्ट्रिय विमानहरूको आवागमनलाई अनुमति दिइने भएको छ ।

महामारीको अधिकांश समय जापानले सबै पर्यटकलाई रोक लगाएको र नागरिक र जापानमा स्थायीरूपमा बस्दै आएका विदेशीहरूलाई मात्र प्रवेश गर्न अनुमति दिएको थियो । यद्यपि पछिल्लो समय यो अनुमति समेतलाई बन्द गरिएको थियो । 

सबै यात्रुहरूले जापान जानुभन्दा पहिले कोभिड सङ्क्रमण नभएको परीक्षण रिपोर्ट बुझाउनु पर्ने र जापानमा पुगेपछि पुनः परीक्षण गर्नुपर्ने समेत अनिवार्य गरिएको छ, यद्यपि केही देशहरूबाट आउने कोभिडको बुस्टर मात्रासमेत लिएका व्यक्तिहरूका लागि थप परीक्षणका साथसाथै अरूको लागि आवश्यक तीन दिने क्वारेन्टाइन नियम अनिवार्य हुने छैन ।

भ्रमण समूहहरूले आगन्तुकहरूलाई जापानको मास्क लगाउने र अन्य उपायहरूको पालना गर्ने सुनिश्चित गर्ने जिम्मेवारी वहन गर्नेमा जापानी अधिकारीले विश्वास गरेका छन् । 

सावधानी साथ पुनः पर्यटन सेवा खोल्दा कति जनाले फाइदा उठाउन सक्छन् भन्ने कुरा स्पष्ट नगरिए पनि जापानमा प्रवेश गर्ने मानिसहरूको अहिलेको दैनिक आगमन सङ्ख्या अर्को महिना दोब्बर भएर २० हजार पुग्ने बताइएको छ । यद्यपी उक्त तथ्याङ्कमा पर्यटन समूहको गणना हुने अपेक्षा नगरिएको स्थानीय सञ्चारमाध्यमले जापानी अधिकारीलाई उद्धृत गरी समाचार लेखेका छन् ।  

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले सीमा नियन्त्रणका उपायहरु सहज बनाउन चाहेको बताउनुभएको छ तर वर्तमान नियन्त्रणका उपायका लागि बलियो जनसमर्थन रहेकोले सबै गतिविधि भने बिस्तारै बढ्ने अपेक्षा गरिएको छ ।

जापानले सन् २०१९ मा ३१.९ करोड विदेशी आगन्तुकहरूलाई स्वागत गरेको सरकारी तथ्याङ्क रहेको छ तर महामारी को असर पर्नुभन्दा पहिले सन् २०२० मा ४० करोडको विदेशी पर्यटक भित्राउने लक्ष्य प्राप्त गर्न सफल भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।