हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव : सङ्घ

RSS २०७९-०२-२० १५:२४:०० बजे

काठमाण्डौ।नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । 

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।

एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउनुहुन्छ । नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उहाँको भनाइ छ । 

हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको बताइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।