३४ वटा वायुयान ‘नाइट–स्टप’ पार्किङ काठमाण्डौबाहिर जानु पर्ने

RSS २०७९-०३-०६ १६:०१:०० बजे

काठमाण्डौ।हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाण्डौबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ ।

प्राधिकरणको आज बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप’ पार्किङका लागि विमानस्थलमा ठाउँ अभाव भएको भन्दै व्यावसायिक उडान गर्ने नौवटा वायुसेवाका ४८ मध्ये २० वटा जहाज पनि ‘नाइट–स्टप’ पार्किङका लागि बाहिर जानुपर्ने निर्णय गरिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अनुमति लिएका हेलिकप्टर र वायुसेवाले आफ्ना जहाज मोफसलमा अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरिएको छ । 

प्राधिकरणले गरेको सो निर्णय यही असार ७ गतेदेखि हेलिकप्टर र १३ गतेदेखि जहाजमा अनिवार्य कडाइका साथ लागू हुने नेपाल प्राधिकरण (क्यान)का महानिर्देशक ई प्रदीप अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालको उड्डयन सुरक्षा अभिवृद्धि गर्ने नीतिअनुसार प्राधिकरणले ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरिएको छ । कडाइका साथ निर्णय लागू गरिनेछ ।”

प्राधिकरण मातहतको फ्लाइटअनुसार नेपालमा ३६ वटा हेलिकप्टर रहेको बताइएको छ । अबका दिनमा हेलिकप्टर र वायुसेवाले काठमाडौँ विमानस्थलमा तोकिएको सङ्ख्याभन्दा बढी जहाज पार्किङ गर्न पाउने छैनन् । सङ्घीयताको मर्मअनुसार प्रदेशको अर्थतन्त्र चलायमान बनाउन र प्रदेशका सर्वसाधारणले आफ्नो समयअनुसार केन्द्रीय राजधानीमा आउन यो समानताको निर्णयले अझ सहज हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले अपेक्षा लिएको छ ।

यसैगरी राज्यले भिभिआइपीको सूचीमा राखेका व्यक्तिले अबका दिनमा एकल पाइलटद्वारा सञ्चालन हुने हेलिकप्टर चार्टर उडानमा यात्रा गर्न नपाउने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणले आज भिभिआइपी हेलिकप्टर उडानमा अनिवार्य

दुईजना पाइलट हुनुपर्ने निर्णय गरेको छ । राज्यले भिभिआइपी भनेका व्यक्तिहरुलाई एकल पाइलट भएको उडानबाट ओहोरदोहोर गराउन नपाइने भनेर निर्णय भएको र सोमबार सबै हेलिकप्टर कम्पनीलाई परिपत्र जारी गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई अधिकारीले जानकारी दिनुभयो । 

हाल नेपालमा १० वटा निजी हेलिकप्टर कम्पनी रहेका छन् । प्राधिकरणको आज बसेको सञ्चालक समितिको बैठकले अबदेखि अन्य सर्वसाधरणले गर्ने चार्टर उडानमा पनि दुइटा पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत गरेको छ । मौसमको अवस्था, पाइलटको स्वास्थ्य अवस्था, भौगोलिक अवस्था आदि स्थितिका आधारमा कतिपय उडानमा एउटा पाइलटले सर्वसाधारणका लागि चार्टर उडान भने गर्न पाउनेछन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।