यी २ उपाय जसले सेयर बजारलाई तत्काल रेस्क्यू गर्नेछ

पिताम्वर गौतम २०७९-०३-०८ ०२:१८:०० बजे

काठमाण्डौ।नेपालको शेयरबजार करेक्सनको पीडाले आक्रान्त छ । १९ अगस्ट २०२१ मा ३२२७‍.११अंकको टप लगाएको बजार हिजो १७ जुन २०२२ मा १९७१.३६ अंकमा आइपुगेको छ । यो १० महिनाको अवधिमा १२५५.७५ अंकले घटेको बजारले खर्वौंको पूँजीकरण गुमाएको छ अर्थात लगानीकर्ताको खर्वौं रकम डुबेको छ । 

नेपालको शेयर बजारले भोगेको यो पीडादायी अवस्थाका लागि नेपालका नियामक निकाय अझ भनौं नेपाल राष्ट्र बैंक जिम्मेवार रहेको बताउँदै उसले लिएका ४–१२ लगायतका कतिपय नीतिहरु हटाउन तथा  लगानीकर्तासँग यसअघि गरिएका सम्झौता कार्यान्वयन गराउन लगानीकर्ताहरु अहिले आन्दोलनमा छन । 

अगुवा लगानीकर्ता तिलक कोइराला नेपाल धितोपत्र बोर्ड(सेबोन) अगाडि आमरण अनशनमा हुनुहुन्छ ।आन्दोलनमा उपस्थित हुने लगानीकर्ताहरुसँग अनौपचारिक रुपमा कुरा गर्ने हो भने धेरै जना राष्ट्र बैंकको  ४–१२ तथा सिडि रेसियो लगायतका गलत नीतिका कारण शेयर बजार आक्रान्त भएको बताउनुहुन्छ । राष्ट्र बैंकले सिलसिलेवार रुपमा लिएका कतिपय नीतिहरु हेर्दा शेयर बजार लाई जसरी पनि साइजमा राख्नुपर्छ भन्ने मान्यताले काम गरेको त छैन भन्ने शंका लाइ बल पुग्छ । वास्तवमा हाम्रो बजारमा अहिल‍े देखिएको समस्या र यसका समाधानका पाटाहरु के के हुन सक्छन भन्ने सम्वन्धमा म यहाँ चर्चा गर्ने कोशिश गर्नेछु । लगानीकर्तावाट आउन सक्ने ताली र गाली दुवै मेरा लागी ग्राह्य हुनेछन ।

नेपालको वजारमा ट्रेड हुने औजारहरु साह्रै कम छन् । अधिकांश हिस्सा शेयरकै रहेको हाम्रो बजारमा बैंक तथा वित्तीय संस्था, हाइड्रो तथा इन्सुरेन्स कम्पनीका शेयरहरुले अधिकांश हिस्सा आोगटेका छन । विश्वबजारलाइ हेर्ने हो भने वित्तीय बजारको विकासका लागी हाम्रो देशमा गर्न पर्ने र गर्न सकिने  थुप्रै कामहरु छन् । सवै काम आजभोलिम‍ै हुन सक्ने अवस्था पक्का पनि रहँदैन । तसर्थ सरकार तथा नियामक निकायले चाहेमा एक हप्तामै केही काम गर्न सक्छ जसले नेपालको शेयर बजारको दीर्घकालिन विकासका लागी ठूलो सहयोग गर्न सक्छ । अहिले नेपाली शेयर बजारमा मेरो विचारमा जम्मा २ वटा समस्या प्रधान छन् जसको सम्बोधन नियामक निकायले तुरुन्तै गर्नुपर्ने देखिन्छ ।

१.नेपाली शेयर बजारमा अहिले देखिएको प्रमुख समस्या भनेको लगानीका लागी ऋण रकम नपाइनु हो । नेपाली अर्थ बजारले  झेलिरहेको तरलताको संकट तथा राष्ट्र वैंकले लागू गरेको ४–१२ को नीतिका कारण एकातिर शेयर धितो राखेर ऋण पाउने अवस्था छैन भने अर्कातिर विद्यमान ऋण समेत तोकिएको अवधिभित्र तोकिएको सीमाभित्र ल्याउनु पर्ने अवस्था बनेको छ । जसका कारण शेयर बिक्री गर्नैपर्ने वाध्यात्मक अवस्थामा लगानीकर्ता पुगेका छन जसले बजारमा सेलको बाढी नै लागेको छ ।

२. अहिले लगानीकर्तालाइ आक्रान्त बनाएको अर्को विषय मर्जरका नाममा वर्षौं कारोबार रोक्का हुनु हो । विभिन्न क्षेत्रका कम्पनीहरुको संख्या ‍धेरै भएको भन्दै पूँजी वृद्धिको नीति मार्फत् घुमाउरो पारामा मर्जर गराउन नियामक निकाय उद्धत देखिन्छन । संख्या धेरै हुन्छ कि थोरै भन्ने कुरा लाइसेन्स बाँड्दा नै सोच्नु पर्ने विषय हो । कहिले माइक्रोफाइनान्समा मर्जर कहिले इन्सुरेन्समा मर्जर अनि बैंकमा त सदाबहार मर्जर । मर्ज भएर कम्पनी सवाल बन्नु त राम्रै कुरा होला तर त्यही नाममा लगानीकर्ताको सम्पति वर्षौं बन्धक हुने अवस्था सृजना हुँदा लगानीकर्ताको मनोवलमा नकारात्मक असर परेको प्रष्ट देखिन्छ । 

अब गरौं समाधानका कुराः

१.नेपाली बैंकहरुले हाल प्रवाह गरिरहेको शेयर धितोकर्जा मार्जिन कर्जा होइन । यो त हामीले घर जग्गा जस्तै गरी शेयर धितोमा राखेर  पाइने कर्जा हो । वास्तवमा अहिले अन्तराष्ट्रिय रुपमा प्रचलनमा रहेको मार्जिन कर्जा भन्ने कर्जा नेपालमा छँदै छैन । खर्वौंको पूँजीकरण भएको बजारमा मार्जिन कर्जा उपलब्ध नहुनु वास्तवमै समस्याको कुरा हो । मार्जिन कर्जा ब्रोकरमार्फत् उपलव्ध हुने व्यवस्था गरिनुपर्छ जुन अहिले कागजमा सीमित छ । तर नेपालका ब्रोकरहरुको क्षमताले अहिले मार्जिन कर्जा उपलव्ध हुन सक्दैन । त्यसैले ब्रोकरको पूँजी वृद्धि अहिलेको आवश्यकता हो । मार्जिन कर्जाको व्यवस्थापनको अर्को  उपाय भनेको ब्रोकरहरुकै सहभागितामा एउटा  वित्तीय कम्पनी सञ्चालन गर्नु हो । उनीहरुलाइ लगानीको समस्या पर्छ भने प्रमोटरका रुपमा नेपाल टेलिकम, कर्मचारी संचय कोष तथा नागरिक लगानी कोष जस्ता संस्थाहरुलाई पनि आवद्ध गर्न सकिन्छ । तत्कालका लागी निफ्रा,एचआइडीसीएल जस्ता कम्पनीहरुले यस्तो प्रकारको कर्जा उपलव्ध गराउने व्यवस्था गर्न सकिन्छ । अर्को पनि उपाय छ हाम्रो सरकारको नीति तथा कार्यक्रममा सदैव एनआरएनलाई पूँजीबजारमा भित्र्याउने कुरा परिरहेकै हुन्छ । मार्जिन कर्जा उपलव्ध गराउनका लागि उनीहरुको सहभागितामा वित्तीय कम्पनी सञ्चालन गर्न सकिन्छ । थुप्रै उपायहरु छन् जसमार्फत पूँजीबजारको यो सदावहार समस्या समाधान गर्न सकिन्छ यदि तालुकदार निकाय यसका लागि तयार छन भने । नत्र अहिले हटाए पनि राखे पनि मौद्रिक नीति मार्फत आउने ४–१२ जस्ता नीतिहरुले शेयर बजारलाइ गिजोलिरहने छन् । यो ४–१२ नीतितर्फ भन्दा यता तिर पो लाग्ने हो कि?

२. यो मर्जरमा हुने कारोबार रोक्काको समस्या धितोपत्र बोर्डले चाह्यो भने एकदिन मै समाधान हुन सक्छ । कम्पनीहरुले मर्ज हुने निर्णयमा हस्ताक्षर गर्नु अघि डीडीए सम्पन्न भइसक्नुपर्ने मात्र भनम् त कारोबार २ दिन भन्दा बढी रोक्नै पर्दैन । यो मर्जर फेल हुने समस्या पनि हटेर जानेछ । अब यति पनि गर्न सक्नु हुन्न भने त के को नियामक निकाय भन्ने र ?

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।