काठमाण्डौ।इङ्गवा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्न आज नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दिएको छ ।
असार १६ गते बिहीबार धितोपत्र बोर्डसमक्ष इङ्गवा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्न अनुमति माग्दै निवेदन दिएको हो ।
कम्पनीले स्थानीय तथा सर्वसाधारणका लागि रु.१०० अंकित दरका १८ लाख कित्ता शेयर अर्थात् १८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशनका लागि बिहीबार बोर्डसमक्ष पुगेको हो । शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा भने नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
इङ्गवा हाइड्रोपावर लिमिटेडको कार्यालय काठमाण्डौस्थित ट्रेड टावर थापाथलीमा रहेको छ । कम्पनीको अध्यक्षमा सतिस न्यौपाने र कार्यकारी निर्देशकमा गुरु प्रसाद न्यौपाने रहेका छन् ।
इङ्गवा हाइड्रोपावर लिमिटेडले पाँचथर र ताप्लेजुङ्ग जिल्लाको इङ्गवा खोलामा ९.७ मेगावाटको अप्पर इङ्गवा हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । आगामी कात्तिकमा उक्त प्रोजेक्टको निर्माणकार्य सम्पन्न गर्ने कम्पनीले दाबी गरेको छ । प्रोजेक्टमा कुल लगानी रु. २ अर्ब,बैंक ऋण रु.१ अर्ब ४० करोड र बाँकी संस्थापक शेयरधनीको रु. ६० करोड रहेको कम्पनीका अध्यक्ष सतिस न्यौपानेले बताए ।