के साँच्चै बनिन्छ त शेयरबाट करोडपति ?

पिताम्बर गौतम २०७९-०३-१८ ११:२७:०० बजे

काठमाण्डौ।यसै त अनिश्चित नेपालको शेयर बजार बाम लोकतान्त्रिक गठबन्धनको उदयसँगै निरन्तर घटिरहेको छ। लगानीकर्तामा फैलिएको मनोवैज्ञानिक त्रासको शिकार अहिले नेपालको बजार बन्दै छ। बैंकहरुमा देखिएको निरन्तरको तरलता संकट तथा शेयर बजारमा आएको अधिक आपूर्तिको खपत गर्ने  दीर्घकालीन उपाय अझै पनि टाढै देखिन्छ । 

यस्तो अवस्था आउँदासम्म पनि सरकारले बजारको दीर्घकालीन सुधारका लागि कुनै काम नगर्दा लगानीकर्तामा नैराश्यता छाउनु स्वभाविक नै हो ।शेयर बजार चरम वियरिस अवस्थामा पुग्दा सामाजिक सञ्जालहरुमा अनेक खालका टिप्पणीहरु पनि सुनिन थालेका छन् ।अग्रज लगानीकर्ता तथा शेयर विज्ञ आदरणीय रबिन्द्र भट्टराईको ‘शेयरबाट करोडपति’ पुस्तकलाई साक्षी राख्दै साँच्चै बन्न सकिन्छ त शेयरबाट करोडपति भन्ने विषयमा म आफ्नो अनुभव बाँड्न चाहन्छु । 

हामीलाई सकेसम्म छिटो करोडपति बन्नु छ त्यो पनि शेयरबाट किनकि शेयर बजारबाट कमाउन धेरै दुःख गर्नै पर्दैन भन्ने गलत मानसिकता हामीमा व्याप्त छ। यदि यही मानसिकताबाट बजार पस्नु भएकै हो भने माफ गर्नु होला तपाइँ गलत ठाउँमा हुनुहुन्छ।यो आजको भोलि करोडपति बन्ने ठाउँ नै होइन । त्यसो भन्दैमा शेयर बजारबाट करोडपति बन्न नसकिने भन्ने होइन । संसारमा थुप्रै मानिसहरु छन् जो शेयरबाटै करोड मात्र होइन अर्ब/खर्बपति भएका छन तर त्यसका लागि हामीले धेरै नै मिहिनेत गर्नुपर्छ । हजुरहरु त्यसका लागि तयार हुनुहुन्छ त ?

१. सर्बप्रथम आफ्नो ‘मनी मेनेजमेन्ट’ मा ध्यान दिनुहोस । हामी धेरै साना लगानीकर्ताको प्रमुख समस्या पनि यही हो । ‘मनी मेनेजमेन्ट’ पर्याप्त हुन सकेन भने यसले हामीलाई तनाव मात्र थप्ने काम गर्छ ।ब्रोकरले अर्बौँ रुपैयाँ उधारो उठाउन नसक्नुको एउटा कारण तपाइँ हाम्रो ‘मनी मेनेजमेन्ट’ उपयुक्त हुन नसक्नु पनि एउटा कारण हो। 

२.हकप्रद शेयरको पछि कहिले पनि नभाग्नुहोस । हकप्रदले शेयर को संख्या बढाउने काम गर्छ । शेयरको संख्या बढे जसरी कम्पनीले आफ्नो आम्दानी बढाउन नसक्दा स्वभाविक रुपमा हामीले प्राप्त गर्ने नाफा कम हुन जान्छ । हामीले प्राप्त गर्ने प्रतिफल कम हुन जाँदा स्वभावतः स्टकको बजार मूल्य पनि कम हुने नै भयो ।  

३. कम्पनी छनोटमा ध्यान दिनुहोस् । यस्ता कम्पनी छान्नुहोस् जो बजार घट्दा बिस्तारै घट्छन तर बढ़दा बेस्सरी उकालो लाग्छन । यसका लागि अरुको भर नपर्नुहोस । नियमित रुपमा अध्ययन गर्ने बानी बसाल्नु होस् ।

४. बजारमा प्रवेशका लागि सही समय कुर्नुहोस् र निस्कने समय पनि पहिले नै निर्धारण गर्नुहोस । यसका लागि प्राविधिक विश्लेषण सहयोगी बन्न सक्छ । 

५. सामाजिक सञ्जालहरुमा शेयर खरिदबिक्रीका दिईने सल्लाह बाट सकेसम्म बच्नुहोस । हरेकले त्यही शेयर किन्ने सल्लाह दिन्छन जुन उनीहरुसँग हुन्छ । सामाजिक सञ्जालमा सक्रिय रहनुस किनकि यसले लगानीकर्ताको मनोविज्ञान बुझ्न सहयोग गर्छ तर खरिदबिक्री आफ्नो अध्ययनमा आधारित रहेर मात्र गर्नुहोस् ।किनकि पैसा तपाइँ को हो भने यसमा हुने जोखिम र प्रतिफल पनि तपाइँ कै हो । सकेसम्म बजारका अनुभवीहरुलाई सामाजिक सञ्जालमा फलो गर्नुहोस।

६. घाटामा गएको कम्पनीको शेयरलाई सकेसम्म ‘एभरेज’ नगर्नुहोस।शेयर बजारको चर्चित टुल एभरेजिङ सबै अवस्थाका लागि उपयुक्त टुल होइन । वियरिस सेन्टिमेन्टमा रहेको शेयरमा कति ‘एभरेज’ गर्दा नाफा हुन्छ भन्ने निर्धारण गर्न गाह्रो हुन्छ। कुनै शेयरको नाफा–घाटा भन्दा समग्र पोर्टफोलियोको नाफा–घाटा हेर्नु फाइदाजनक हुन्छ ।

७. सकेसम्म धेरै मूल्य भएका कम्पनीहरु बाट बच्नु होस् ।एकपटक राम्ररी सोच्नुहोस त २ हजार माथि तिरेर २० प्रतिशत रिटर्न दिन सक्ने कम्पनी किन्नु भन्दा त समान रिटर्न दिने रु. २०० कै कम्पनी किन्नु राम्रो होइन र ? फेरि भन्नु होला बुलमा माथि जाने कम्पनी पनि त मूल्य उच्च भएका कम्पनी नै हुन् भनेर । यो सधैं याद राख्नुहोस् कि घट्दा सातो जाने गरी घटने पनि त तिनै हुन नि होइन र ?

८.लगानी पूर्वको तयारीमा ध्यान दिनुहोस् ।कुन कम्पनी के आधारमा छनौट गर्नु भयो सो को कारण सहितको नोटबुक बनाउने अभ्यास गर्नुहोस , यसो गर्दा तपाइँलाई आगामी दिनमा गरिने लगानी निर्णयलाई सहयोग पुग्छ ।कम्पनीको आधारभूत विश्लेषण गर्नुहोस ।यसका लागि पीई रेसियो,इपीएस,पीबी रेसियो,पीईजी तथा शेयरको तरलता जस्ता औजारहरु उपयोगी हुन सक्छन । कम्पनी सञ्चालक हरुको बारेमा राम्ररी बुझ्नुहोस् ।  

९.धैर्यता कहिले नगुमाउनुहोस । मान्नुस नमान्नुस शेयर बजारमा ५ प्रतिशतले मात्र कमाउँछन् बाकी त सबैले गुमाउने नै हो । त्यसैले  घाटा खान सदैव तयार रहनुहोस र आफ्नो क्षमता अनुसार घाटा को निर्धारण गर्नुहोस ।बजारले सदैव मौका दिइरहेकै हुन्छ त्यसैले लामो समयसम्म बजारमा टिकिरहने वातावरणको निर्माण गर्नुहोस् । यसका लागि ‘मनी मेनेजमेन्ट’ सबैभन्दा महत्वपूर्ण अस्त्र हो ।

१०.ब्लु चिप कम्पनीमा गरिएको लगानीले दीर्घकालमा फाइदा नै गर्छ भन्ने बुझ्नुहोस् ।

माथि  उल्लेखित कुराहरु मात्र शेयर बजारमा गरिने लगानी रणनीतिका लागि पर्याप्त छैनन्। यसका अतिरिक्त अन्य कुराहरु जो हजुरहरुलाई उपयुक्त छन भन्ने लाग्छ,सो बुझेर गरिएको हाम्रो लगानी निर्णय सुखद् रहोस ।

(लेखक नेपाल टेलिकममा लेखा अधिकृत कार्यरत कर्मचारीका साथै १ दशकदेखि शेयर बजारमा सक्रिय छन् ।) 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।