काठमाण्डौ।नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ट्रेडिङ्ग मेनेजमेन्ट सिस्टम(टीएमएस)मा बिक्री तर्फको एओएन पनि हटाउने निर्णय गरी सो व्यवस्था आज आइतबारदेखि लागू भएको छ ।
नेप्सेले आजआइतबारदेखि लागू हुने गरी शेयर कारोबार टीएमएसमा रहेको बिक्री तर्फको एओएन अप्सन बन्द गर्ने व्यवस्था कार्यान्वयन गर्ने भएको हो ।
नेप्सेले यसअघि नै टीएमएसमा खरिदतर्फ एओएन फिचर बन्द गरिसकेको छ र आउँदो आइतबारदेखि भने बिक्रीतर्फको एओएन फिचरसमेत हटाउने निर्णय गरेको जनाएको छ ।
एओएन अर्थात् अल अर नन् को व्यवस्थामा खरिदकर्ता वा बिक्रीकर्ताले एकमुष्ट सम्पूर्ण शेयर बिक्री गर्नसक्ने व्यवस्था वा फिचर हो ।
एकाध लगानीकर्ताहरुको बदनियतलाई निस्तेज पार्न नेपाल धितोपत्र बोर्ड र नेप्सेले आम लगानीकर्ताहरुको अधिकारमाथि नै अंकुश लगाइएको जानकारहरु बताउँछन् । यस व्यवस्थाले संस्थागत लगानीकर्ताहरुलाई ठूलो मात्रामा शेयर खरिद गर्नसक्ने व्यवस्थामा असर पर्ने जानकारहरको दाबी छ ।
शेयर खण्डित भएपछि सिलिङ्गमा रहेको ब्रोकर कमिसन पनि लगानीकर्ताहरुलाई अधिक पर्न जाने तर ब्रोकरहरुलाई कमिसनको मात्रा बढ्ने देखिन्छ । यसैगरी लगानीकर्ताहरुले चाहेको मात्रामा शेयर खरिदबिक्री एकैपटक नहुँदा खण्डित हुने र पुनः बिक्री गर्दा डीपी शुल्कको लागत पनि बढ्नेछ । यसबाट ५० वटै ब्रोकर कम्पनीलाई नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले प्रत्यक्ष फाइदा पुर्याउने निर्णय गरेको देखिन्छ ।
यद्यपि यस विषयमा पछिल्लो समय एओएन फिचर हटाउन नहुने भन्दै कतिपय लगानीकर्ताहरुले सामाजिक सञ्जालमा चर्को विरोध पनि गर्दै आइरहेका छन् ।
टीएमएसमा रहेको एओएन फिचरमा हुने अस्वभाविक चलखेल वा बदनियतलाई नियमन गर्नुका साटो फिचर नै खारेज गर्ने नियामक निकायको नियमनकारी क्षमतामाथि नै प्रश्नचिन्ह खडा भएको छ ।